काठमाडौं । नासाले अन्तरिक्षको गहिराइबाट पृथ्वीमा बिरालोको अल्ट्रा हाई-डेफिनिशन भिडियो स्ट्रिम गरेको छ।
टेटर्स द क्याटको १५ सेकेन्डको क्लिप लेजरको माध्यमले सुदुर अन्तरिक्षबाट पृथ्वीमा पठाइएको थियो र यसले लेजर बीमलाई पछ्याइरहेको देखिन्छ। ओरेन्ज ट्याबीको फुटेजले १ करोड ९० लाख माइल यात्रा गरेको छ र यो पृथ्वीबाट चन्द्रमाको दूरीको करिब ८० गुणा हो।
नासाले परीक्षण गरिरहेको यो लेजर प्रविधिले सौर्यमण्डलका धेरै दुर्गम भागहरूसँगको सञ्चारमा सुधार ल्याउने आशा गरेको बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ। टेटर्सको स्वामित्व क्यालिफोर्निया स्थित नासाको जेट प्रोपल्सन प्रयोगशाला (जेपीएल) का एक कर्मचारीसँग छ।
भिडियो १३ अक्टोबरमा फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट स्पेसएक्सको फाल्कोन हेभी रकेटसँग प्रक्षेपण गरिएको अन्तरिक्ष यानमा अपलोड गरिएको थियो र ११ डिसेम्बरमा स्ट्रिम गरिएको थियो। ‘लाखौं माइल टाढाबाट प्रसारण गर्दा पनि, यसले धेरैजसो ब्रोडब्यान्ड इन्टरनेट कनेक्सन भन्दा छिटो गतिमा भिडियो पठाउन सक्षम भयो,’ जेपीएल इलेक्ट्रोनिक्सका प्रमुख रायन रोगलिनले भने। भिडियो पालोमार अब्जर्भेटरीको हाले टेलिस्कोपले प्राप्त गरेको थियो, जहाँ यसलाई डाउनलोड गरिएको थियो। त्यहाँबाट यो जेपीएलमा स्ट्रिम गरिएको र त्यहाँ रियल टाइममा प्ले गरिएको थियो।
नासाको परीक्षण डीप स्पेस अप्टिकल कम्युनिकेसन्स (डीएसओसी) मिशनको एक हिस्सा थियो। अन्तरिक्ष एजेन्सीको यो पहिलो परीक्षण थियो जसले पृथ्वी र चन्द्रमाको बीचमा सञ्चारलाई तिब्रगति र भरपर्दोरुपमा पुर्याउन ध्यान दिने पहिलो योजना थियो।