मंगलबार, कात्तिक ११ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालमा बर्सेनि तीन हजार जनाको मिर्गौला फेल


    हुलाक प्रेस

    • बिहीबार , साउन २९ २०८२०८:२७
    नेपालमा बर्सेनि तीन हजार जनाको मिर्गौला फेल

    काठमाडौं । नेपालमा बर्सेनि करिब तीन हजार जनाको मिर्गौला र एक हजार जनाको कलेजो फेल हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । 

    भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट तथा मस्तिष्क मृत्युपश्चात हुने अंगदान र प्रत्यारोपणसम्बन्धी समन्वय इकाइ संयोजक डा. कल्पनाकुमारी श्रेष्ठले उनीहरूमध्ये केहीको अंग नपाएर अकालमा मृत्यु हने गरेको बताइन् । 

    पश्चिमा मुलुकमा मस्तिष्क मृत्युपश्चात प्राप्त अंगबाट ८० प्रतिशतभन्दा बढी प्रत्यारोपण हुने गरेकोमा अधिकांश एसियाली राष्ट्रहरूमा उक्त कार्य कम मात्रामा हुने गरेको उनको भनाइ छ । स्वस्थ जीवित व्यक्तिबाट अंग  निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्दा अंगदातामा जोखिम हुने सम्भावना रहने उनले बताइन् । 

    मस्तिष्क मृत्युपश्चात हुने अंगदानबाट प्रत्यारोपण हुनसके दाताको जोखिमको चिन्ता गर्नु नपर्ने र सडेर जाने वा खरानी भएर जाने अंग कसैको पुनर्जीवनको लागि प्रयोग हुने डा. श्रेष्ठले बताइन् । 

    सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले सबैभन्दा धेरै (देशको दुईतिहाइ) मिर्गौला र कलेजो प्रत्यारोपण गरिसकेको जनाएको छ ।  

    केन्द्रमा भएका करिब १५ सयजना मिर्गौला प्रत्यारोपितमा ९८ प्रतिशतभन्दा बढी मिर्गौला प्रत्यारोपित बाँचेको पाइएको पनि उनले बताइन् । डाइलाइसिसमा बस्नेहरू ९५ प्रतिशत बाँचेको पाइएको डा. पुकारचन्द्र श्रेष्ठले बताए । 

    १६ वर्षअघि विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले नेपालमा मिर्गौला फेल भएमा ९० प्रतिशतभन्दा बढी रोगीहरू मृत्युको सिकार हुने अवस्था रहेको औँल्याएको थियो । हाल ९० प्रतिशतभन्दा बढी बाँचिरहेको अवस्थालाई १८० डिग्रीको सफलता मानिएको छ । 

    कलेजो प्रत्यारोपण ९३ प्रतिशत सफलताका साथ सम्पन्न भइसकेको केन्द्रले जनाएको छ । १३ वर्षमै संस्थाले मुलुकमा स्वास्थ्य क्षेत्रको अति विशिष्ट विधामा विश्वस्तरीय सफलता हासिल गर्नु सबैको लागि अनुकरणीय कार्य भएको डा. श्रेष्ठले बताए । 

    उपयुक्त भवन भए केन्द्र स्वयंले ५०० बेडको भवन बनाई ५०० प्रतिशत थप सेवा दिन सक्षम रहेको दाबी गरे । केन्द्रको सेवा विस्तारको लागि पायक पर्ने स्थानमा जग्गा उपलब्ध गराउन सम्बन्धित सबैमा अनुरोध समेत गरे । 

    विश्व अंगदान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले अंगदान र प्रत्यारोपणको क्षेत्रमा गरेको कामको प्रशंसा गरे । मस्तिष्क मृत्युपश्चात हुने अंगदान र प्रत्यारोपणबारे व्यापक जनचेतना जगाउन आफूले प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    सरकारले प्रोत्साहन स्वरुप मस्तिष्क मृत्युपश्चात अंगदाताको परिवारलाई दुई लाख र मस्तिष्क मृत्यु भएको अस्पताललाई ७५ हजार रुपैयाँ दिने व्यवस्था गरेको पनि उनले सुनाए । उक्त रकम सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपलब्ध गराउने गरेको छ ।

    मन्त्रालयले अंग प्रत्यारोपण जस्तो संवेदनशील र महँगो सेवालाई केन्द्रमा मात्र सीमित नराखी सातै प्रदेशमा विस्तार गर्ने योजना बनाएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पोखरा,  सुर्खेत र नेपालगञ्जमा मिर्गौला प्रत्यारोपणको थालनी गरिसकेको छ । 

    सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी, वाग्मतीको हेटौँडा अस्पताल, मधेसको नारायणी अस्पताल र कोसीको कोसी अस्पताल विराटनगरमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार तयारी गरिरहेको मन्त्री पौडेलको भनाइ थियो । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ