काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–१ नियमविपरित बनेको पाँच तारे होटलको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) पास हुन सकेको छैन ।
वन मन्त्रालयले गत कात्तिक २४ गते ७ दिने सूचना प्रकाशित गर्दै होटल फरेष्ट इनको इआईए प्रकाशित गरेपनि स्वीकृत भएको छैन । इआईए रिपोर्ट प्रकाशित भयो तर स्वीकृत नभएपछि नेपाली कांग्रेसका सांसद तथा पर्व राज्यमन्त्री दिपक खड्का दलबलसहित वन मन्त्रालय पुगेर आफ्नो होटलको इआईए किन स्वीकृत नगरेको भन्दै वन मन्त्री वीरेन्द्रप्रसाद महतो र सचिवलाई थर्काएका छन् । स्वीकृत नगर्ने भए वन मन्त्रालयले इआईए रिपोर्ट प्रकाशित किन गरेको भनेर सांसद खड्काको मन्त्री महतो र सचिवसँग चर्काचर्की परेको वन मन्त्रालयका एक अधिकारीले बताए ।
सांसद् खड्काको समेत लगानीमा बूढानीलकण्ठमा २ अर्ब ९७ करोड १३ लाख रुपैयाँमा पाँचतारे चेन होटल निर्माण भइसकेको छ । १ लाख ४२ हजार ७८३ स्क्वायर फिटमा निर्माण भएको होटलमा १०२ वटा कोठाको सुविधा हुने जनाएको छ । होटल सन् २०२३ को अक्टोबरदेखि सञ्चालनमा ल्याउने तयारी रहेको बताइए पनि इआईए पास नभएकाले होटल सञ्चालनमा आउन सकेको छैन ।

सरकारले ठूला–ठूला आयोजना निर्माणका लागि इआईए अनिवार्य बनाउनुपर्ने व्यवस्था गरेको छ । इआईएबिना कुनै पनि आयोजनाको काम अगाडि बढेमा सरकारले त्यस्ता आयोजनालाई रोक लगाउँदै आएको छ । नियमविपरित बनेको सांसद खड्काको होटलको पनि इआईए स्वीकृती वन मन्त्रालयले रोकेको थियो ।
सांसद खड्काले कर्मचारीले सर्वसाधारणलाई दुःख दिने गरेको आरोप लगाएका छन् । मन्त्री र सचिवमाथि औंला ठड्याउँदै खड्काले फाइल ल्याउन र त्यो फाइल च्यातेर मन्त्रीको कार्यकक्षमै आगो लगाएर साढे तीन अर्ब जुवा खेल्न तयार रहेको बताए । ‘म आजै यहाँ अनसन बस्छु । मलाई अहिले नै चिट्ठी चाहिन्छ । होइन भने कसैलाई पनि बाहिर जान दिन्न’ चेतावनी दिँदै उनले भने ।
यसकारण भयो नियमविपरित
राष्ट्रिय निकुञ्ज ऐन, मध्यवर्ती क्षेत्र नियमावली र त्यो नियमावलीको अधिकार प्रयोग गरेर विभागले मापदण्ड बनाएको छ । मध्यवर्ती क्षेत्र र निकुञ्ज क्षेत्रमा व्यवसायिक प्रयोजनका लागि होटल बनाउँदा मापदण्ड बनाइएको छ । २०६२ सालमा जारी भएको मापदण्डमा मध्यवर्ती क्षेत्रमा व्यवसायिक प्रयोजनका लागि होटल खोल्दा साढे दुई तल्लाभन्दा अग्ला भवन बनाउन नपाउने व्यवस्था छ । तर, सांसद खड्काको होटल भने चार तल्लाको निर्माण भएको छ, जुन नियम विपरित छ ।