काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको निमिबिया र नेदरल्यान्ड्सविरुद्धको एकदिवसिय अन्तर्राष्ट्रिय शृंखला जितविहीन बन्दै टुंग्याएको छ ।
बुधबार नेपालले आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ५७ रनको हार व्यहोरेको हो । नेदरल्यान्ड्सको एभससी कोम्पोग क्रिकेट रंगशालामा घरेलु टोलीले प्रस्तुत गरेको २२६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ४८ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । नेपालले यसअघि घरेलु टोली र नामिबियाविरुद्धको दुवै खेलमा पनि हार व्यहोरेको थियो ।
नेपाललाई सस्तैमा रोक्न नेदरल्यान्ड्सका काइल क्लेनले तीन विकेट लिए । लेगान भान बिक, रोइलोफ भान डेर मेर्वे र ज्याक लियोन च्याकेटले समान दुई विकेट लिँदा आर्यन डटले एक विकेट लिए ।
नेपालका लागि निम्ति ओपनर आशिफ खेशले ३८ रन बनाए । कप्तान रोहित पौडेलले २६, करन केसीले २३, आविजित रहेका हेमन्त धामीले १५, इशान पाण्डेले १६, गुल्सन झाले ११ र भिम शार्कीले १० बनाए ।
त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले नेपालविरुद्ध निर्भारित ५० ओभरमा नौ विकेट गुमाएर २२५ रनको योगफल खडा गरेको थियो । नेदरल्यान्ड्सका नोआ क्रोएसले सर्वाधिक ७० रनको योगदान गरे । उनले ९३ बलमा तीन चौका प्रहार गरे ।
कप्तान स्कट एड्वार्डसले ५७ रन जोडे । उनले ९१ बलमा तीन चौका प्रहार गरे । यसैगरी, लोगन भान बिकले २७, ज्याक लियोन क्याशेले १६, बास डे लिडेले १३ र म्याक्स ओ’ डाउडले १२ रन बनाए । नेपालका करण केसीले चार, दीपेन्द्रसिंह ऐरी दुई तथा हेमन्त धामी र ललितनारायण राजवंशीले समान एक–एक विकेट लिए । नेपालले यसअघि नामिबियाविरुद्ध दुई र नेदरल्यान्ड्विरुद्ध एक खेल खेल्दा सबै खेलमा हार व्यहोरेको थियो ।
जितसँगै नेदरल्यान्ड्स लिग २ को दोस्रो स्थानमा उक्लिएको छ । ३८ अंक बनाएको टोलीले ३१ खेलमा १७ जित र १० हार व्यहोरेको छ भने टोलीको चार खेल रद्द भएको छ । हारसँगै नेपाल भने २४ अंकमा सीमित भएको छ ।