काठमाडौं । भारतमा जारी आईसिसी एकदिवसीय विश्वकपमा सर्वाधिक पाँच पटकको अस्ट्रेलिया र श्रीलंकाले दुई खेल खेलिसकेका छन् ।
तेस्रो चरणका खेल सुरु हुँदा दुबै टोली जितविहिन छन् । सोमबार हुने विश्वकपका खेलमा यही दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ । खेल लखनउस्थित श्री अटल बिहारी बाजपेयी क्रिकेट मैदानमा दिउसो सवाँ २ बजे सुरु हुनेछ ।
घाइते भएपछि श्रीलंकाका कप्तान दसुन शनका विश्वकपबाट बाहिर भएका छन । पाकिस्तानविरुद्धको खेलमा शनका घाइते भएका थिए । उनको स्थानमा अलराउन्डर चमिका करुणारत्नेले खेल्नेछन् । कुशल मेन्डिसले कप्तानी गर्नेछन् । यसअघि अस्ट्रेलिया भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो । श्रीलंका भने पाकिस्तानसँगै न्युजिल्यान्डसँग हारेको हो ।
दुई देशबीच हालसम्म एक सय ३ एकदिवसीय खेल भएको छ । जहाँ अस्ट्रेलियाले सर्वाधिक ६३ खेल जित्दा श्रीलंकाले जम्मा ३६ खेल जितेको छ । चार खेल नतिजाविहिन छन् ।
विश्वकपमा भने दुई टोलीबीच १० पटक भेट भएको छ । जसमा आठ पटक अस्ट्रेलिया र एक पटक मात्रै श्रीलंकाले जितेको हो । एक खेल नतिजा विहिन भएको छ । हाल दुबै टोलीले पछिल्ला पाँच खेल मध्ये चार खेलमा हार बेहोरेका छन् ।