काठमाडौं । भिनिसियस जुनियरको उत्कृष्ट प्रदर्शनप्रेरित रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा मंगलबार बोरुसिया डर्टमन्डविरुद्ध ५-२ को पुनरागमन जित निकालेको छ ।
जितसँगै तीन खेलमा ६ अंक जोडेको रियाल नवौं स्थानमा छ । पहिलो पराजय ब्यहोरेको डर्टमन्ड समान खेलबाट ६ अंकका साथ पाचौं स्थानमा छ ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियाललाई जित दिलाउन भिनिसियसले ह्याट्रिक गर्दा एन्टोनियो रुडिगर र लुकास भास्क्वेजले समान एक गोल थपे । डर्टमन्डका लागि डोनिल मलेन र जिमी बियोन जिटेन्सले गोल गरे ।
खेलको ३०औं मिनेटमा मलेनको गोलमार्फत डर्टमन्डले अग्रता लिएको थियो । चार मिनेटपछि नै जिटेन्सले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २-० ले पछि परेको रियालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । ६०औं मिनेटमा रुडिगरले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।
दुई मिनेटपछि नै भिनिसियसले गोल गर्दा रियाल २२ को बराबरीमा आयो । ८३औं मिनेटमा भास्क्वेजले रियालका लागि तेस्रो गोल गरे ।
भिनिसियसले ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा रियाल ४-२ ले अगाडि बढ्यो । अतिरिक्त समयमा भिनिसियसले ह्याट्रिक पूरा गर्दै रियाललाई ५-२ को जित दिलाए ।