काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलमा ३२ खेलपछि पराजित भएको छ । यता, लिभरपुल भने शीर्ष स्थानमा उक्लयो ।
शनिबार राति भएको खेलमा सिटी बर्नामाउथसँग २–१ ले पराजित भएको हो । बर्नामाउथलाई घरेलु मैदानमा जिताउन एन्टोइन सेमोन्यो र एभानिल्सनले गोल गरेका हुन् । सिटीको लागि जोस्को जिभार्डिओलले गोल फर्काएका थिए ।
यसअघि सिटी डेसेम्बर ६ मा एस्टन भिल्लासँग १–० ले पराजित भएको थियो । त्यसयता ३२ खेलमा टोली अपराजित थियो ।
यो हारपछि पेप ग्वार्डिओलाको सिटी दोस्रो स्थानमा झर्याे । १० खेलबाट टोलीको २३ अंक छ । शीर्ष स्थानमा उक्लिएको लिभरपुलको २५ अक छ । चौथो जित निकालेको बर्नामाउथ १५ अंकसहित तालिकाको आठौं स्थानमा रह्यो ।
राति नै भएको खेलमा लिभरपुलले ब्राइटनविरुद्ध रोमाञ्चक २–१ को जित निकाल्यो । लिभरपुलको पुनरागमन जितमा कोडी गाक्पो र मोहम्मद सलाहले समान एक गोल गरेका थिए । यसअघि पहिलो हाफमा फेर्डी काडिओग्लुले ब्राइटनलाई अग्रता दिलाएका थिए ।
राति नै भएको अन्य खेलमा न्युक्यासले आर्सनललाई १–०, नटिंघम फोरेष्टले वेष्ट हम युनाइटेडलाई ३–०, साउथह्याम्पटनले एभर्टनलाई १–० ले हराएका छन् ।