काठमाडौं । स्पेनिस सुपर कपको फाइनलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोना भिड्ने पक्का भएको छ।
बिहीबार राति भएको खेलमा रियलले मालोर्कालाई ३-० ले हराउँदै फाइनलमा स्थान बनाएसँगै बार्सिलोनाको फाइनल भेट पक्का गरेको हो।
जूड बेलिङघमले दोस्रो हाफमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। जेद्दाहमा भएको सेमिफाइनल खेलमा मालोर्का इन्जुरी समयमा थप दुई गोल खान पुगेको थियो।
खेलको ६३ औं मिनेटमा इङ्गल्याण्डका मिडफिल्डर बेलिङहामले गोल गर्दै टिमलाई अग्रता दिलाए। रोड्रिगोको हेडर पोस्टमा लागेपछि केलियन एम्बाप्पेको प्रहार रोकिएको थियो, जसलाई बेलिङहामले सहज रूपमा गोलमा परिणत गरे।
ब्राहिम डियाजको पासलाई मार्टिन भल्जेन्टले गल्तीले आफ्नै पोस्टमा गोल गर्दा इन्जुरी समयको दोस्रो मिनेटमा रियल २-० ले अघि रह्यो। अर्को गोल रोड्रिगोले लुकास भास्क्वेजको प्रहारलाई नजिकैबाट गोलमा परिणत गरेका थिए।
बेलिङघमका लागि यो गोल पछिल्ला नौ खेलमा सातौं गोल थियो भने यस सिजनको नवौं गोल हो। आइतबार ‘एल क्लासिको’ फाइनल हुने छ। गत वर्षपनि यि दुई टोली फाइनलमा भिडेका थिए। बार्सिलोनाले आफ्नो स्थान बुधबार एथ्लेटिक क्लबलाई २-० ले पराजित गर्दै सुरक्षित गरेको हो। अक्टोबरमा ला लिगामा रियलविरुद्ध ४-० को प्रभावशाली जित निकालेका बार्सिलोनाका लागि यो अर्को अवसर हुनेछ।
बार्सिलोनाले अहिलेसम्म १४ पटक सुपर कप जितेको छ, जुन सबैभन्दा धेरै हो। रियल मड्रिड भने १३ उपाधिका साथ बार्सिलोना भन्दा एक कदम पछाडि छ।