काठमाडौं । म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिगमा बिहीबार घरेलु टोली एफसिएसबीविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै युनाइटेड ८ खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित एफसिएसबी समान खेलबाट १४ अंकका साथ ११औं स्थानमा छ ।
नेसनल एरिनामा युनाइटेडलाई जित दिलाउन डियगो डालोट र कोबी माइनोले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।
खेलको ६०औं मिनेटमा डालोटको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । ८ मिनेटपछि नै माइनोले टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेडले आफ्नो अपराजित यात्रालाई कायम राख्यो ।
बिहीबारै सम्पन्न अन्य खेलमा टोटनहम, रोमा, आयाक्स, एट्लेटिक क्लब बिल्वाओ, होफिनहेइम र रेन्जर्सले पनि जित निकाले ।