काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेल जुन ११ मा सहआयोजक राष्ट्र मेक्सिकोमा हुनेछ । समूह ‘ए’मा रहेको मेक्सिकोले उद्घाटन खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । यही समूहमा चेक गणतन्त्र (चेकिया) र दक्षिण कोरिया पनि छन् ।
समूहका अधिकांश खेल मेक्सिकोमा हुनेछन् । समूह ‘ए’का दुई खेल मेक्सिको सिटीमा हुनेछ । ग्वाडालाजारा र मोन्टेरीमा एक/एक खेल हुने तालिका छ ।
मेक्सिकोबाहिर यो समूहको एउटा मात्र खेल हुनेछ । त्यो जुन १८ मा चेकिया र दक्षिण अफ्रिकाबीचको खेल हो । र, एट्लान्टामा हुने तय छ ।
मेक्सिकोका तीनमध्ये दुई खेल हालै मात्र पुनर्निर्माण गरिएको एज्टेका रंगशालामा हुनेछ । यो त्यही रंगशाला हो, जसमा सन् १९७० र १९८६ को विश्वकपमा फाइनल खेल आयोजना गरिएको थियो ।
मेक्सिको
चार दशकपछि पहिलोपटक विश्वकप आयोजना गर्न लागेको मेक्सिको चार वर्षअघि कतारमा समूह चरणबाटै बाहिरिएको थियो । त्यो निराशा बिर्संदै टोली सफलताको अर्को अध्याय सुरु गर्न चाहन्छ ।
रमाइलो तथ्य के छ भने मेक्सिको यसअघि सन् १९७० र १९८६ मा आफैँले विश्वकप आयोजना गर्दा मात्र अन्तिम आठमा पुगेको छ । मेक्सिकोको अहिलेको योजना कम्तीमा पुरानो इतिहास दोहोर्याउने हुनेछ ।
मेक्सिकोको लक्ष्यमा धेरै आशा १७ वर्षे गिल्बर्टो मोरामाथि टिकेको छ । मेक्सिकोको राष्ट्रिय टिमबाट खेल्ने इतिहासकै सबभन्दा कम उमेरको खेलाडीका रूपमा गत वर्ष मोराले १६ वर्षमा अन्तर्राष्ट्रिय ‘डेब्यु’ गरेका थिए ।
मेक्सिकन टिम भेट्रान प्रशिक्षक जाभियर अग्विरेको नेतृत्वमा विश्वकपमा मैदान उत्रने तयारीमा छ । अग्विरे पछिल्लोपटक सन् २०२४ मा मेक्सिकन राष्ट्रिय टिममा जोडिएका थिए । त्यसयता लगातार नेतृत्वमा रहेका उनको यो टिममा तेस्रो कार्यकाल हो ।
टिम मेक्सिको
गोलकिपर : राउल रान्जेल (सिभाज), कार्लोस एकेभेडो (सान्तोष लागुना) र गुलेर्मो ओचोआ (एइएल लिमासोल)
रक्षक : इजराइल रेयेज (क्लब अमेरिका), जिसस गालार्डो (टोलुका), जर्ज सान्चेज (पीएओके), सिजर मोन्टेस (लोकोमोटिभ मस्को), योहान भास्क्वेज (जिनोआ) र माटियो चाभेज (पीएसभी)
मिडफिल्डर : इरिक लिरा (क्रुज अजुल), लुइस रोमो (सिभाज), ओबेड भार्गस (एट्लेटिको मड्रिड), ब्रायन गुटिरेज (सिभाज), ओर्बेलिन पिनेडा (एइके एथेन्स), इड्सन अल्भारेज (फेनेरबाचे), गिल्बर्टो मोरा (क्लब टिजुआना), सिजर हुएर्टा (एन्डरलेक), अल्भारो फिडाल्गो (रियाल बेटिस) र लुइस चाभेज (डिनामो मस्को)
फरवार्ड : रोबर्टो अल्भाराडो (सिभाज), एलेक्सिस भेगा (टोलुका), जुलियन क्विनोनेस (अल कादसिस), सान्टियागो जिमेनेज (एसी मिलान), गुलेर्मो मार्टिनेज (पुमास), अर्मान्डो गोन्जालेज (सिभाज) र राउल जिमेनेज (फुलह्याम) ।
प्रशिक्षक : हाभियर अग्वेरे ।
दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाले सन् २०१० मा आफैँले विश्वकप आयोजना गरेको थियो । त्यो संस्करणपछि दक्षिण अफ्रिका विश्वकपको मैदानमा फर्किएको यसपालि पहिलोपटक हो ।
१६ वर्षअघि फ्रान्समाथि २–१ को स्तब्धतापूर्ण जित निकाले पनि दक्षिण अफ्रिका समूह चरणबाट माथि उठ्न सकेको थिएन । विश्वकप इतिहासमा त्यति बेला दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिने पहिलो आयोजक बनेको थियो । पछि कतारले पनि यसमा नाम लेखायो ।
दक्षिण अफ्रिकालाई प्रशिक्षकको भूमिकामा रहेर बेल्जियमका ह्युगो ब्रुसले नेतृत्व गरिरहेका छन् । सन् २०२१ देखि लगातार दक्षिण अफ्रिकी टिमको नेतृत्वमा रहेका ब्रुसले अधिकांश स्थानीय क्लबका खेलाडीहरूबाट विश्वकपको टिम तयार गरेका छन् ।
टिम दक्षिण अफ्रिका
गोलकिपर : रोन्वेन विलियम्स (मामेलोडी सन्डन्स), रिकार्डो गस (सिवेलेले एफसी) र सिफो चाइने (ओर्लान्डो पिराटेस)
रक्षक : खुलिसो मुडाउ (मोलोडी सन्डन्स), ओल्वेथु माखान्या (फिलाडेल्फिया युनियन), ब्राड्ली क्रस (काइजर चिफ्स), थावाङ माटुलुडी (पोलोवेने सिटी), एन्कोसिनाथी सिबिसी (ओर्लान्डो पिराटेस), अब्रे मोडिबा (मामेलोडी सन्डन्स), खुलुमानी एन्डामाने (मामेलोडी सन्डन्स), इमे ओकोन (ह्यानोभर ९६), सामुकेले काबिनी (मोल्डे एफके) र एमबेकेजेली एमबोकाजी (सिकागो फायर)
मिड्फिल्डर : थेबोहो मोकोइना (मामेलोडी सन्डन्स), जाइडेन एडम्स (मामेलोडी सन्डन्स), थालेन्टे एमबाथा (ओर्लान्डो पिराटेस), कामोगेलो सेबेलेबेले (ओर्लान्डो पिराटेस) र स्फेफेलो सिथोले (सिडी टन्डेला)
फरवार्ड : अस्विन एपोलिस (ओर्लान्डो पिराटेस), टिसेपाङ मोरेमी ( ओर्लान्डो पिराटेस), इभिडेन्स माक्गोपा (ओर्लान्डो पिराटेस), लाइल फोस्टर (बर्नली), इक्राम राएनर्स (मामेलोडी सन्डन्स), रेले बोहिले मोफोकेङ (ओर्लान्डो पिराटेस), थेम्बा जिवाने (मामेलोडी सन्डन्स) र थापेलो मासेको (एइएल लिमासोल)
प्रशिक्षक : ह्युगो ब्रुस ।
दक्षिण कोरिया
विश्वकप इतिहासमा सबभन्दा सफल एसियाली राष्ट्र हो, दक्षिण कोरिया । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा यसपालि दक्षिण कोरियाको १२औँ सहभागिता हो । सन् २००२ मा जापानसँग मिलेर आफैँले प्रतियोगिता आयोजना गर्दा सेमिफाइनल पुग्नु विश्वकपमा दक्षिण कोरियाको हालसम्मको सबभन्दा उत्कृष्ट नतिजा हो ।
विश्वकप २०२६ का निम्ति एसियाली छनोट प्रतियोगितामा अपराजित हुँदै उत्तर अमेरिकाको टिकट काट्न सफल भए पनि यसको अभ्यास खेलहरूमा टिमको प्रदर्शन सोचेजस्तो रहन सकेको छैन । गत महिनाका अभ्यास खेलमा टोलीले आइभोरी कोस्टलाई ४–० र अस्ट्रियालाई १–० को नतिजा सुम्पिएको थियो ।
टोलीका सबभन्दा ठूला स्टार तथा कप्तान टोटनहमका पूर्वस्ट्राइकर सन ह्युङ मिन हुन् । सन अहिले अमेरिकी मेजर लिग सकरको टोली लस एन्जल्स एफसीबाट खेलिरहेका छन् । टिममा उपलब्ध अरू स्टार नाम भनेको पेरिस सेन्ट जर्मनका मिडफिल्डर ली काङ इन र बायर्न म्युनिखका रक्षक किम मिन जाइ हुन् ।
प्रशिक्षकका रूपमा टिमको नेतृत्व सन् २०२४ देखि निरन्तर होङ म्युङ बोले गरिरहेका छन् । दक्षिण कोरियाली राष्ट्रिय टिममा उनको यो दोस्रो कार्यकाल हो । सन् २००२ मा घरेलु भूमिमा टोली सेमिफाइनलमा पुग्दा उनी दक्षिण कोरियाका कप्तान थिए ।
टिम दक्षिण कोरिया
गोलकिपर : बम किउन सङ (जियोनबुक), ह्योन उ जो (उल्सान) र सियुङ ग्यु किम (एफसी टोकियो)
रक्षक : मुन ह्वान किम (डाइजियुन), मिन जाइ किम (बायर्न म्युनिख), ताइ ह्युन किम (कासिमा एन्टलर्स), जिन सियोब पार्क (झेजियाङ), योङ उ सिउल (रेड स्टार बेलग्रेड), जिन्स कास्ट्रप (बोरुसिया मोन्चेनग्लाडबाच), की ह्युक ली (गाङउन), ताइ सिउक ली (अस्ट्रिय विन), हान बिउम ली (मिड्जिल्यान्ड) र यु मिन चो (सारजहाँ)
मिड्फिल्डर : जिन ग्यु किम (जियोनबक), जुन हो बाइ (स्टोक), सियुङ हो पाइक (बर्मिङघम), ह्युन जुन याङ (सेल्टिक), जी सङ इयोम (स्वान्सी), काङ इन ली (पेरिस सेन्ट जर्मेन), डङ गेयोङ ली (उल्सान), जाइ सङ ली (मेइन्ज), इन बयिोम ह्वाङ (फेयर्नुड) र ही चान ह्वाङ (उल्भस)
फरवार्ड : ह्युङ मिन सन (एलएएफसी), ह्योन ग्यु ओ (बेसिक्टास) र गुइ सङ चो (मिड्जिल्यान्ड)
प्रशिक्षक : म्युङ बो हङ ।
चेक गणतन्त्र (चेकिया)
चेक गणतन्त्रले सन् २००६ पछि पहिलोपटक विश्वकपमा स्थान बनाउनका निम्ति युरोपियन प्लेअफमा पेनाल्टी सुटआउटसम्म संघर्ष गर्दै डेनमार्कलाई हराउनुपरेको थियो ।
टिमलाई विश्वकपसम्म डोर्याउने अभियानमा सहयोग गर्न ३५ वर्षे पूर्वकप्तान भ्यादिमिर डारिया सन्न्यास फिर्ता लिएर मैदानमा फर्किएका थिए । युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलबाट चेक गणतन्त्र पराजित भएपछि डारियाले सन् २०२१ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए ।
चेक गणतन्त्रको टिम ७४ वर्षे भेट्रान प्रशिक्षक मिरोस्लाभ कौबेकको नेतृत्वमा विश्वकप खेल्दै छ । गत वर्ष विश्वकप छनोटको खेलमा निकै कमजोर आँकिएको फारो आइल्यान्डसँग २–१ को नतिजामा स्तब्ध भएपछि इभान हासेकलाई स्थानान्तरण गर्दै कौबेकले टिमको नेतृत्व लिएका थिए ।
टिम चेकिया
गोलकिपर : लुकास होर्निचेक (ब्रागा), माटेज कोभार (पीएसभी आइन्डहोभन) र जिन्ड्रिच स्टानेक (स्लाभिया प्राग)
रक्षक : भ्लादिमिर कौफल (होफेनहेम), डेविड डाउडेरा (स्लाभिया प्राग), टोमस होल्स (स्लाभिया प्राग), रोबिन ह्रानाक (होफेनहेम), स्टेपन चालोपेक (स्लाभिया प्राग), डेविड जुरासेक (स्लाभिया प्राग), लाडिस्लाभ क्रेज्की (उल्भस), जारोस्लाभ जेलेनी (स्पार्टा प्राग) र डेविड जिमा (स्लाभिया प्राग)
मिड्फिल्डर : लुकास क्रेभ (भिक्टोरिया प्लाजेन), भ्लादिमिर डारिडा (ह्राडेक क्रालोभ), लुकास प्रोभोड (स्लाभिया प्राग), मिचेल साडिलेक (स्लाभिया प्राग), ह्युगो सोचुरेक (स्पार्टा प्राग), एलेक्जेन्डर सोज्का (भिक्टोरिया प्लाजेन), टोमस सौचेक (वेस्ट ह्याम), पाभेल सुल्क (ओलम्पिक लियोन) र डेनिस भिसिन्स्की (भिक्टोरिया प्लाजेन)
फरवार्ड : एडम ह्लोजेक (होफेनहेम), टोमस चोरी (स्लाभिया प्राग), मोजमिर चिटिल (स्लाभिया प्राग), यान कुच्टा (स्पार्टा प्राग) र प्याट्रिक शिच (बायर लेभरकुसन)
प्रशिक्षक : मिरोस्लाभ कौबेक ।
समूह ‘ए’ खेलतालिका (नेपाली समयानुसार)
– मेक्सिकोविरुद्ध दक्षिण अफ्रिका : १२ जुन, बिहान ००ः४५ बजे, एज्टेका रंगशाला (मेक्सिको सिटी)
– दक्षिण कोरियाविरुद्ध चेक गणतन्त्र : १२ जुन, बिहान ०७ः४५ बजे, एज्टेका रंगशाला (मेक्सिको सिटी)
– चेक गणतन्त्रविरुद्ध दक्षिण अफ्रिका : १८ जुन, साँझ २१ः४५ बजे, मर्सिडिज बेन्ज रंगशाला (एट्लान्टा)
– मेक्सिकोविरुद्ध दक्षिण कोरिया) : १९ जुन, बिहान ०६ः४५ बजे, एज्टेका रंगशाला (मेक्सिको सिटी)
– चेक गणतन्त्रविरुद्ध मेक्सिको : २५ जुन, बिहान ०६ः४५ बजे, एज्टेका रंगशाला (मेक्सिको सिटी)
– दक्षिण अफ्रिकाविरुद्ध दक्षिण कोरिया : २५ जुन, बिहान ०६ः४५ बजे, स्टेडियो बिबिभिए (मोन्टेरी)