मंगलबार, कात्तिक ११ गते २०८३
  • यो साता चर्चामा :
  • मेराे देशको राजनीति


    दीक्षान्त न्यौपाने

    • शुक्रबार, माघ ५ २०८००८:५५
    मेराे देशको राजनीति

    सगरमाथाको उचाइसँगै आग्लिएको राष्ट्र नेपालको राजनीति हिमनदी जत्तिकै पवित्र र कञ्चन हुनुपर्ने हो । कुनै पनि राष्ट्रको नीति नियमले दुःखी गरिबका आँशु पुछ्न सक्नुपर्छ । भोकाको पेट भर्न सक्नुपर्छ। नाङ्गाको आङ ढाक्न सक्नुपर्छ । तब मात्र देशको राजनीति पवित्र हुन्छ ।

    यो राष्ट्र बिना कसैको देन र योगदानले यहाँसम्म आइपुगेको होइन । हाम्रा वीर पुर्खाहरूले खुकुरीको भरमा युद्ध लडेर बम गोला र बारूदलाई परास्त गरेका घटनाहरूको साक्षी स्वयम् हाम्रो स्वर्णिम इतिहासका विजेताहरू रहेका छ्न्। संसारभर वीर गोर्खालीको नामले चिनिएका हाम्रा पुर्खाहरू इतिहासमा ताजै छन् ।

    अंग्रेजहरूले उल्लेख गरेअनुसार "नेपालमा त नागरिकमा मात्र होइन ? जनावर,किरा र वनस्पतिमसमेत राष्ट्रभक्ति हुँदोरहेछ ।" भनेका थिए । यस्ता युगका नायकहरूले देखाएको बाटो त्यागेर हाम्रो देशको राजनीति कतातिर दौडिरहेछ ?

    आजको युवापुस्ताले चाहेको राजनीति अत्यन्त फरक छ गाँस,बाँस र कपासको खोजीमा विदेशतिर दौडिनुपर्ने भएपछि आजका युवा पुस्ताले कसरी माटोलाई सम्मान गर्दछन् ? त्यसैले तीन करोड नेपालीलाई नेपाली  माटोमा नै बस्न सक्ने वातावरणको सिर्जना गर सरकार ! 

    पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमालदेखि दक्षिण तराईसम्मका आजका सारा युवा पुस्ताले खोजेको र रोजेको कुरा स्वाभिमानी भएर यो राष्ट्रमा बाँच्न पाउने अधिकार हो । हाम्रा युवा पुस्ताले विदेशी भूमिमा बगाउने पसिनाले आफ्नै माटोलाई सिञ्चित पार्न सके यो माटो कति मुस्कुराउँथ्यो होला ?

    हे सत्ताधारी हो ! के तिमीहरूमा यो देशका युवा पुस्तालाई नेपाली माटोमा बाँच्न र हाँस्न पाउने अधिकार दिन सक्ने क्षमता छ..?

    अझै कति दुर्गन्धित बनाउँछौ यो देशको राजनीतिलाई ? अझै कति झुक्न बाध्य बनाउँछौ स्वाभिमानी शिरलाई ? जब कुनै पनि युवाले भविष्य नै नदेखेपछि अब यो देशको माटो कसरी सुगन्धित हुन्छ?त्यसैले दुई चारओटा महानगरपालिकामा रहेका फराकिला सडकहरूमा सवारी साधनहरू दौडिदैमा देश विकासतर्फ लम्केको भरममा नपर ।

    यहाँ रोल्पा, रूकुम,हुम्ला,जुम्ला र कालीकोटका पाखा पखेरामा पनि मोटर बाटो दौडिनु पर्छ।त्यहाँका जनताले पनि शिक्षा,स्वास्थ्य र रोजगारीका अवसरहरू प्राप्त गर्नुपर्छ। देशलाई भ्रष्टाचारीहरूको अखडा नबनाऊ । "साधुलाई शुली र चोरलाई चौतारो " को नीति अबलम्बन नगर । विवेकको प्रयोग गर।युवा पुस्ता वैदेशिक रोजगारीमा जान थालेपछि गाउँ रित्तियो,टोल रित्तियो,रित्तियो सिङ्गो समाज ! यसरी वर्षेनी लाखौँको सङ्ख्यामा बिदेसिन पुगेका युवा पुस्ता विदेशमा नै रमाउन थालेपछि देश कहाँ रहला सोचौँ त ?

    त्यसैले राष्ट्रिय एकताको लागि ,देशलाई प्रगतिको गोरेटोमा लैजानका लागि अब एकजुट भएर लाग्नुपर्छ। युवापुस्ताको मिहेनत यही माटोमा रोप्नुपर्छ । माटो र परिवेश सुहाउँदो जुन क्षेत्रमा जे जस्तो व्यापार व्यवसाय चलाउन सकिन्छ।त्यस्तै चलाउनु पर्छ । युवा पुस्तालाई देशमा बस्न सक्ने वातावरणको सिर्जना गर्नुपर्छ ।




    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ