आज बाटोमा छिमेकी आमा भेट हुनुभयो । अनेकौँ गन्थन मन्थन सुनाउँदै हुनुहुन्थ्यो । "हामी बुहारी हुँदा कति काम गर्नुपर्थ्यो । गाई, भैँसी,मेला पात,चुलो,चौको, पानी,पधेँरो संसार नाच्ने गर्थ्यौं । आजकालका बुहारीलाई त नानी यही बिहान बेलुकाको भात पकाएर खान पनि धौधौ छ ।" गन गन गर्दै बुढी आमा जानुभयो ।
बढी आमापछि उनकै बुहारी भेटिइन् । मैले प्रश्न सोधे " बहिनी खाजा खानुभयो ? "दिउँसोको २:० बजेको हुँदो हो । "कहाँ खाजा खाने दिदी बिहानको भान्सा उठेकै छैन ?" म छक्क परेँ । मनमनै सोचेँ । यो घरमा दिउँसोको खाजा कति बेला खान्छन् होला ? बुहारीको निर्दोष अनुहारमा समयको पीडा देख्न सकिन्थ्यो । तीन जना उस्ताउस्तै बालबच्चा ,सासुआमा, ससुरा बुबा,देवर नन्द सबै जनाको चित्त बुझाउनु पर्ने,पकाउनु खुवाउनु,घरको सरसफाइ,बालबच्चाको स्याहार सुसार अनि गृहकार्य गराउनु,सबै काम सम्झँदा मात्र पनि मन भारी हुन्थ्यो । मैले बुहारीको मुहारको मन्द मुस्कानभित्र अथाह पीडा लुकेको अनुभव गरेँ । छिमेकी आमाको कुरा सम्झिएँ, "काम गर्दैनन् आजकालका बुहारीहरू। "
यो मेरो छिमेकी आमाको घरको मात्रै होइन सिङ्गो नेपाली नारीहरूको समस्या हुन सक्छ । पुराना जमानाका आमाहरूले आफ्नो समयमा असाध्यै दुःख गर्नुभयो सङ्घर्ष गर्नुभयो र परिवारलाई अगाडि बढाउनु भयो तर यो भन्दैमा सबै बुहारीले केही काम गर्दैनन् भन्न त मिलेन नि ।
वर्तमान समयमा आफ्नो घर परिवार र बालबच्चाका लागि असाध्यै परिश्रम र दुःख गर्ने महिलाहरू पनि हाम्रै समाजमा हुनुहुन्छ।कुनै कार्यालयमा महिला र पुरुष दुवै एउटै क्षेत्रमा काम गरेर साथमा फर्किए पनि घरमा फर्किए पछि घरको सम्पूर्ण काम गर्नु पर्ने बाध्यता नारीको हुन्छ पुरूषको हुँदैन ।
त्यसैले नारीलाई हेर्ने दृष्टि बदलौँ, सम्मान गरौँ । आफ्ना हरेक हाँसो र खुसी लाई तिलाञ्जली दिँदै जीवनभर श्रीमानको घरमा हाँसो र खुसी छर्दै बाँच्न सक्छु भन्ने अठोटकासाथ हजुरको घरमा भित्रिएकी हुन् । त्यसैले साक्षात् लक्ष्मीलाई भित्र्याउनु भएको छ हजुरले अलिकति त नारीको खुसीको पनि सम्मान गरौँ ।