शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • मौलाकालिका मन्दिरमा भक्तजनको भीड


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ५ २०८००९:२४
    मौलाकालिका मन्दिरमा भक्तजनको भीड

    चितवन । गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ । 

    गत वर्षमा बिहानका समयमा मात्रै भक्तजन मन्दिर जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै जाने गरेका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । दिउँसोको समयमा उकालो चढ्न कठिन हुने भएकाले बिहानमा मन्दिरमा भीड हुने गरेकामा अहिले साँझसम्म नै भक्तजन जाने गरेका हुन् ।
     
    धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार नवदुर्गा सुरुभएसँगै भक्तजनको सङ्ख्या बढेको छ । शनिबार फूलपातीका दिन आठ हजार भक्तजनले दर्शन गरेको अनुमान गरिएको छ । आज पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

    बिदाको दिन र पर्व विशेषमा दर्शनार्थीको सङ्ख्या बढ्ने गर्दछ । केबलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । मौलाकालिका केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार गत वैशाख महिनामा २५ हजारले केबलकार चढेका थिए ।

    यो सङ्ख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको उनले जानकारी दिए । करिब पाँच सय वर्ष पहिले तत्कालीन पाल्पा राज्यका सैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ