काठमाडौं । भारतमा भर्खरै सम्पन्न १८औँ लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीएले बहुमत ल्याएको छ ।
२९३ सिट जितेको एनडीएले बुधबार कामचलाउ प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चुनिसकेको छ । एनडीएमा आबद्ध सबै दलले मोदीलाई समर्थन पत्र बुझाइसकेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार अब मोदीले लगातार तेस्रो कार्यकालका लागि यही जुन ८ का दिन प्रधानमन्त्री पदको शपथ लिने सम्भावना छ ।
यसैबीच शपथ समारोहलाई भव्य बनाउन तयारी भइरहेको छ । शपथ समारोहमा नेपालसहित बंगलादेश, श्रीलंका, भुटान र मौरिससका सरकार प्रमुखलाई बोलाउने सम्भावना छ ।
औपचारिक निमन्त्रणा भने आज (बिहीबार) पठाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोनमा कुरा गरेका थिए ।