काठमाडौं । राजधानी दिल्लीसहित भारतका १९ राज्यमा तीन/चार दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै भारतीय मौसम विभागल ओरेन्ज अलर्ट जारी गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अरुणाचल प्रदेशमा रेड अलर्ट जारी गरिएको छ ।
पञ्जाबदेखि बंगालसम्म भारी वर्षा
उत्तराखण्ड, उत्तर प्रदेश, पञ्जाब, हरियाणा, पूर्वी राजस्थान, छत्तीसगढ, बिहार, उपहिमालय क्षेत्र, पश्चिम बंगाल, सिक्किम र असम, मेघालय र अरुणाचल प्रदेशमा जुलाई ३ सम्म भारी वर्षाको चेतावनी जारी गरिएको छ । साथै, दिल्ली, ओडिशा, मध्य प्रदेश, नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुराका पृथक स्थानमा पनि वर्षा रेकर्ड गरिएको छ । त्यसैगरी भारी वर्षाका कारण अहमदाबादमा सडक भासिएको छ ।
एक–दुई दिनमा मनसुन भारतभर फैलिने
भारतीय मौसम विभागका अनुसार मनसुन पञ्जाब, पश्चिम राजस्थान र हरियाणाको केही भागमा अघि बढिरहेको छ। यसले उत्तर प्रदेश, जम्मु र हिमाचल प्रदेशका सबै भाग समेटेको छ । पश्चिमी राजस्थान, हरियाणा, चण्डीगढ र पञ्जाबका बाँकी भागमा प्रवेशसँगै दुई–तीन दिनमा मनसुनले पूरै भारतलाई ढाक्नेछ ।
दिल्लीमा भारी वर्षाको चेतावनी
भारतको मौसम विभागले सोमबार र मंगलबार दिल्लीमा भारी वर्षा हुने चेतावनी दिएको छ । साथै ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी पनि चल्ने सम्भावना छ ।
उत्तर प्रदेशमा चार दिनसम्म भारी वर्षा हुने चेतावनी
उत्तर प्रदेशका धेरै भागमा आगामी तीन/चार दिनसम्म भारी वर्षा हुने चेतावनी जारी गरिएको छ । आइतबार प्रदेशभर मनसुन पुगेको छ ।
यी क्षेत्रमा भारी वर्षाको चेतावनी
देवरिया, गोरखपुर, सन्त कबीरनगर, कुशीनगर, महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, श्रावस्ती, बहराइच, लखिमपुरखेरी, सहारनपुर, फिरोजाबाद, मैनपुरी, इटावा, बिजनौर, मुरादाबाद, रामपुर, बरेली र पिलिब आसपासका क्षेत्रमा ओरेन्ज अलर्ट जारी गरिएको छ । आजमगढ, माउ, बस्ती, गोंडा, सीतापुर, फर्रुखाबाद, कन्नौज, बाराबंकी, अमेठी, सुल्तानपुर, अयोध्या, अम्बेडकरनगर, शामली, मुजफ्फरनगर, गाजियाबाद, हापुड, गौतम बुद्ध नगर, बुलन्दसहर, अलीगढ, मथुरा, हाथरस, एगटा अमरोहा, शाहजहांपुर र आसपासका क्षेत्रमा एल्लो अलर्ट जारी गरिएको छ ।