काठमाडौं । गत वर्षको फागुन २० गतेपछि नजिकिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धमा चिसोपन देखिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को बजेटको विषयलाई लिएर शुरु भएको असन्तुष्टी एकपछि अर्को गर्दै झनै बढेर गएको छ । असन्तुष्टीको सिमा बढ्दै जादाँ ओली केही सम्हालिए र आफैले फोन गरेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालकोटमा निम्ताए ।
ओलीले कांग्रेस सभापति देउवालाई बालकोटमा बोलाउनुको पछाडि बुधबारको बालुवाटार बैठकको घटनाक्रमले यो अवस्थामा ल्याएको हो । प्रधानमन्त्री प्रचण्डले सरकारी निवासमा कांग्रेस, एमाले, माओवादी केन्द्रका शीर्ष नेता डाकेका थिए । बैठक डाक्नुको उद्धेश्य थियो लामो समय यत्तिकै थाति रहेको संक्रमणकालीन न्यायको विषय ।
संक्रमणकालीन न्यायले पूर्णता नपाउँदा विशेषगरी माओवादी अप्ठ्यारोमा पर्दै आइरहेको छ । शान्ति प्रक्रिया टुंगिएको लामो समय भयो तर द्वन्द्धकालीन घटनाको विषय निरुपण नहुदाँ पीडीतले अझै न्याय पाउन सकिरहेका छैनन् । त्यसमा प्रत्यक्ष जोडिएको माओवादी पार्टी यही बिषयले तनावमा छ । जुन विषय पीडीत र शीर्ष राजनितिक दलको सहमतिमा टुंग्याउने पर्ने थियो । त्यसैले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकमा रहेका असमझदारी टुंगो लगाउन ठूला तीन दलबीच सहजीकरण संयन्त्र गठन गर्ने विषयमा छलफल राखिएको थियो । बैठकमा ठूला दलका शीर्ष नेता र दोस्रो तहका नेताहरु सहभागी भएपछि प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायको विषय अब छिट्टो टुंग्याउने पर्ने प्रस्ताव राखे ।
त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले 'लौ न त टुंग्याउने भए टुंग्याउ' भने । 'कांग्रेसका सभापति देउवाले यति बोलेपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो छोटो विफ्रिङ गरे त्यसपछि अब सहजीकरण संयन्त्रको संयोजक शीर्ष तहबाट हुनुपर्ने प्रस्ताव राखे । यतिकैमा प्रचण्ड जीले बरु ओली जीले त्यसको नेतृत्व गर्ने हो कि भनेर प्रस्ताव राखे, बैठकमा सहभागी एक नेताले भने त्यति भनेपछि ओली जी रनक्क हुनुभयो र भन्नुभयो ‘अँ भइहाल्छ नि, म घुँडा धसेर प्रतिवेदन लेखुँला । अनि किस्तीमा राखेर हजुरका जुनाफमा चढाउँला ।’ ओली जीले यति बोलेपछि प्रचण्ड कालोनिलो भए । एमाले अध्यक्ष रनक्क हुनु स्वभाविक नै थियो । किन कि प्रचण्डेले भने जस्तो संयन्त्रले गर्ने काम भनेको सुझावसहितको दस्तावेज तयार पार्ने र सरकारलाई बुझाउनु पर्ने थियो । जुन काम प्रधानमन्त्री भइसकेको व्यक्तिले होइन दोस्रो तहका नेताका लागि मात्रै उपयुक्त थियो । दोस्रो तहका नेता त्यसै कारणले बोलाइएको थियो । दोस्रो तहका लागि दिने काम आफूलाई नेतृत्व गर्नुस् भनेर अपमान महसुस गरेको भन्दै ल म निस्के भनेर ओली बाहिरिएका थिए ।
काग्रेसलाई सत्तारुढ दलकै नेताहरु बीचको वाकयुद्धमा खेल्ने मौका मिल्यो । हुन त कांग्रेस र एमाले दोस्रो तहका नेताहरुबीच बजेट अधिवेशनपछि पटक-पटक संवाद भइरहेकै थियो । तर, पछिल्लो समय प्रचण्डको अभिव्यक्ति, बजेटमा प्रधानमन्त्रीले आफूखुसी गरेको कुरालाई लिएर ओली उसै पनि बिच्किएका थिए । त्यसलाई थप मलजल गर्ने काम बुधबारको बैठकले गरेको छ ।
प्रचण्डको भनाईले मन बिझाएर हिडेका ओली केही दिनदेखि तनाबमा थिए । उनले केही दिन अघि सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिले पनि सो कुराको भावभंगी देखिन्थ्यो । पछिल्लो समय उनले भाषणमै सरकारप्रति असन्तुष्टी देखाइरहेका थिए । प्रचण्ड र ओलीबीचको विश्वास अब टुट्छ कि टुट्दैन भन्ने कुरा भने अबको केही दिनमा हुने बिकसित राजनीतिक घटनाक्रमले देखाउने नै छ ।