काठमाडौं । भारतमा एयर ट्याक्सी सन् २०२६ सम्ममा सुरु हुने अपेक्षा गरिएको छ।
इन्टरग्लोब इन्टरप्राइजेज नामको कम्पनीले अमेरिकास्थित आर्चर एभिएसनसँगको सहकार्यमा देशभर सबै विद्युतीय हवाई ट्याक्सी सेवा सुरु गर्ने भएको छ। दुवै कम्पनीले भारतमा अल इलेक्ट्रिक हवाई ट्याक्सी सेवा सञ्चालन गर्न एमओयूमा हस्ताक्षर गरेका छन् । तर, सेवा सुरु गर्न नियामकको स्वीकृति भने आउन बाँकी छ। यदि यो स्वीकृति दिइयो भने, दिल्लीका जनताले यातायातको अर्को माध्यम पाउन सक्नेछन्। यसले सडकमा जाम कम हुनुका साथै प्रदुषण विरुद्ध लड्न मद्दत गर्नेछ।
पीटीआई रिपोर्टकाअनुसार यो सेवाको उद्देश्य यात्रुहरूलाई कम समयमा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनु हो। सेवा सुरु भएपछि दिल्लीको कनोट प्लेसबाट हरियाणाको गुरुग्रामसम्म पुग्न ७ मिनेट मात्र लाग्नेछ। सामान्यतया सडकबाट यो यात्रा २७ किलोमिटरको हुन्छ, जुन एकदेखि डेढ घण्टामा पूरा हुन्छ।
एनडीटीभीको रिपोर्टकाअनुसार सो एयर ट्याक्सी एक प्रकारको ‘मिडनाइट’ ई–एयरक्राफ्ट हुनेछ । यसले १६१ किलोमिटरसम्म यात्रु बोक्न सक्छ। दिल्ली, मुम्बई र बैंगलोरमा २०० ओटा विमानबाट यो सेवा सुरु गर्ने योजना छ। कम्पनीहरूले दिल्लीमा कारबाट ६० देखि ९० मिनेट लाग्ने यात्राका लागि उक्त एयर ट्याक्सीबाट लगभग ७ मिनेट लाग्ने बताएका छन्।