काठमाडौं । गत जुन १० तारिख नेपाल भित्रिएको मनसुन (बर्खायाम ल्याउने तथा पानी पार्ने प्रणाली) बिस्तारै बाहिरिन सुरु गरिसकेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको पूरै क्षेत्र, कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका थोरै स्थानबाट मनसुन हटिसकेको हो ।
अब देशका बाँकी स्थानबाट पनि मनसुन केही दिनमा बाहिरिने सम्भावना छ । नेपालबाट मनसुन बाहिरिने सरदर अर्थात् औसत मिति अक्टोबर २ तारिख भए पनि यसपटक केही ढिला भएको हो ।
मनसुन पूरै नेपालबाट बाहरिएपछि पोस्ट मनसुन सुरु हुनेछ। जुन सिजन डिसेम्बर महिनाभर रहन्छ । जनवरीदेखि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ ।
मौसमविद्का अनुसार मनसुन बिदा भइसकेको र विन्टर आउनुअघिसम्मको अवधिलाई पोस्ट मनसुन मानिन्छ । यसैबीच जल तथा मौसम विज्ञान विभागले अक्टोबरदेखि डिसेम्बरसम्मको मौसम आकलन सार्वजनिक गरेको छ ।
विभागका अनुसार असोज १५ देखि पुस १६ (अक्टोबरदेखि डिसेम्बर) सम्म ३ महिनाको अवधिमा कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका दक्षिणपूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने, कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरद भन्दा कम वर्षा हुने र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना छ ।
यस्तै सो अवधिमा अधिकतम तापक्रम देशका अधिकांश भूभागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रमचाहिँ देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तो छ वर्षाको आकलन
विभागका अनुसार कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका दक्षिणपूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।
कोसी प्रदेशको उत्तरी भूभाग, मधेस प्रदेशको पश्चिमी भूभाग र बागमती प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ भने कोसी प्रदेशको दक्षिणी भूभाग, मधेस प्रदेशको पश्चिमी भूभाग, बागमती प्रदेशको उत्तरपश्चिम भूभाग र गण्डकी प्रदेशको दक्षिणपूर्वी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ ।
त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ ।