काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा प्रमुख दलहरूले भागबण्डा गरेका छन् । जसमा नेपाली कांग्रेस निकट कानुन व्यवसायी र एमाले निकट कानुन व्यवसायीबाट एक–एक जनालाई न्यायाधीश बनाइएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतमा बसेको बैठकले दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको कोटामा एक÷एक जनासहित ६ जनाको नाम सिफारिस गरिएको हो ।
माओवादीको लागि एक जना कोटा छुट्याइएको छ। सर्वोच्च अदालतमा ७ जना न्यायाधीश रिक्त भए पनि माओवादीको कोटाबाट नाम आउन नसक्दा मंगलबार ६ जना मात्रै न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो।
बैठकले उच्च अदालतका न्यायाधीशहरु शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।
न्यायाधीश सिफारिस भएका मध्ये वरिष्ठ अधिवक्ताहरु सुनिल पोखरेल नेपाली कांग्रेस निकट हुन् भने बालकृष्ण ढकाल एमाले निकट हुन् । पोखरेल नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनका तर्फबाट नेपाल बारको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । ढकाल एमाले निकट प्रगतीशिल कानुन व्यवसायीको सदस्य हुन् । दुवै जना गत वर्ष वरिष्ठ अधिवक्ता भएका थिए । पोखरेल अब्बल कानुन व्यवसायीको रुपमा चर्चित छन् । संवैधानिक कानुन र फौजदारी कानुन दुवैमा दख्खल राख्ने पोखरेल राम्रो कानुन व्यवसायीको नाममा परिचित छन् । शालिन र भद्र स्वभावका पाखरेल आफ्नो विषयमा दख्खल राख्छन् ।