शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • आतंककारी गतिबिधिमा रकम लगाएको आरोप लागेका २ जना विशेष अदालतबाट दोषी ठहर


    हुलाक प्रेस

    • मंगलबार, मंसिर १९ २०८००७:२७
    आतंककारी गतिबिधिमा रकम लगाएको आरोप लागेका २ जना विशेष अदालतबाट दोषी ठहर

    काठमाडौं । विशेष अदालतले आतंककारी गतिविधिमा रकम लगाएको अभियोगमा २ जनालाई दोषी ठहर गरेको छ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्रबाबु थापाको इजलासले उनीहरूलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो। दोषी ठहर हुनेमा समसुल होदा र गिरी बाबा भन्ने वृजकिशोर गिरी हुन्।

    सजाय तोक्नका लागि भने बेग्लै सुनुवाइ हुनेछ। यस्तो कसुरमा ३ वर्षदेखि २० वर्षसम्म कैद र बिगोको ५ गुनासम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ।

    उनीहरू नेपाल र भारतका विभिन्न स्थानमा बम विष्फोट र व्यक्तिहत्याका घटनामा पनि जोडिएका व्यक्ति हुन्। ती दुवै जना हत्या अभियोगमा यसअघि नै दोषी ठहर भई जन्मकैद भोगिरहेका छन्।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७५ कात्तिकमा यी दुई मुख्य योजनाकारसहित ७ जनाविरूद्ध आतंककारी गतिविधिमा रकम लगाएको अभियोगमा बेग्लै मुद्दा दायर गरेको थियो।

    अभियोगपत्रअनुसार, दुबईमा रहेका कलैया-८, विद्यानगरका समसुल होदाले पाकिस्तानका सफीसँग पैसा लिएर नेपाल पठाउँथे। उक्त रकम नेपाल र भारतमा आतंकवादी गतिविधिमा खर्चिएको विभागको अनुसन्धानले देखाएको थियो।

    होदाले बारम्बार पैसा पठाउने गरेको र पछिल्लोपटक ५ लाख ४५ हजार रुपैयाँको छानबिन गर्दा त्यसरी आएको सबै रकम आतंकवादी गतिविधिमा प्रयोग गरेको पुष्टि भएको थियो। होदाले उक्त रकम हिमाल रेमिटबाट पठाएको पाइएको थियो।

    होदाले गिरीलाई पैसा पठाएको जानकारी पाएपछि बारा प्रहरीले थप छानबिनका लागि विभागमा पठाएको थियो। 

    वृजकिशोरले मोजाहिर अन्सारी, आशिष सिंह, उमेश कुर्मी, धीरज पाल र लड्डु भनिने राजकिशोर गिरीलाई पनि आतंककारी गतिविधि गराउन प्रयोग गरेको विभागको अभियोगपत्रमा उल्लेख थियो। तर, विशेष अदालतले राजकिशोर गिरी, धीरजकुमार पाल, मोजाहिर अन्सारी र आशिष सिंहलाई निर्दोष ठहर गरेको छ। 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ