काठमाडौँ । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा हवाई आक्रमण गरेपछि जम्मु-कश्मीरको सीमावर्ती क्षेत्र पुंछ, राजौरी, मेन्धर र उरी सेक्टरमा गोलाबारी भएको रिपोर्ट आएको छ ।
गोलाबारीका कारण यी क्षेत्रमा आतंकको अवस्था बनेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । पुंछका स्थानीय जमरोद मुगलले बीबीसी हिन्दीलाई फोनमा बताएअनुसार जम्मुको पुंछ सेक्टरमा विस्फोटको आवाज सुनिएको छ ।
उनले थप भनेका छन्- मानिसहरू अस्पताल र अन्य सुरक्षित स्थानमा गइरहेका छन् । मुगलले पुंछको मुख्य बजारमा रहेको वन विभागको कार्यालयनजिकै एउटा खोल खसेको बताएका छन् ।
त्यहाँको अवस्था अझै पनि तनावपूर्ण छ । बुधबार बिहान उरी सेक्टरमा गोलाबारी भएको एक प्रहरी अधिकारीले फोनमा पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ ।
यद्यपि, यस विषयमा उनले थप बताउन चाहेनन् । यही अप्रिल २२ का दिन जम्मु-कश्मीरको पहलगाममा आतंककारीले गोली हानेर एक नेपालीसमेत २६ जना मारेको १५ दिनपछि भारतले मंगलबार मध्यराति पाकिस्तानमा हवाई हमला गरेको हो ।
आक्रमणमा कति जना मारिए भन्ने विषयमा अहिलेसम्म कुनै पनि भारतीय सञ्चारमाध्यमले एकिन जानकारी दिन सकेका छैनन् ।
भारतीय पत्रिका दैनिक भास्करले भने सयभन्दा बढी आतंककारी मारिएको सूचना प्राप्त भएको दाबी गरेको छ । आक्रमणमा ७ सहरका आतंकवादी लुकेका ९ ठाउँलाई निशाना बनाइएको दाबी भारतले गरेको छ । तर पाकिस्तानले आतंककारीविरुद्धका नाममा भारतले सर्वसाधारण नागरिकमाथि आक्रमण गरेको दाबी गरेको छ ।
यसलाई भारतले 'अपरेसन सिन्दूर' नाम दिएको छ। पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स(आईएसपीआर) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।
समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै उक्त अपरेसन प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर निगरानी गरेको उल्लेख गरेको छ ।
यो तनावपूर्ण अवस्थालाई ध्यान दिँदै भारत र पाकिस्तान दुवैले प्रभावित क्षेत्रका स्कुल तथा कलेज बन्द गराएका छन् भने भारतीय एयरलाइन्सहरूले उडान रद्द गरेका छन् । यसैबीच अमेरिकाले भारत र पाकिस्तानको तनावपूर्ण अवस्थामा आफूले नजर राखिरहेको बताएको छ ।