काठमाडौँ । हावाहुरीसहितको पानीले उच्च अदालत पोखराको सुनुवाइ प्रभावित भएको छ ।
दि फूलबारी लिमिटेडले मालपोत कार्यालयसमेतविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ भइरहँदा अचानक हावाहुरीसहितको पानी परेर सुनुवाइ प्रभावित भएको अदालतले जानकारी दिएको छ ।
'सुनुवाइ भइरहेको प्रस्तुत मुद्दामा अचानक हावाहुरीसहितको पानी परी इजलासमा नै पानी पर्न गई सुनुवाइ प्रभावित हुन गएको हुनाले प्रस्तुत मुद्दा र बाँकी अन्य मुद्दाहरूसमेत पेसीबाट हटाइएको छ,' मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मेरिना श्रेष्ठको संयुक्त इजलासले आदेशमा उल्लेख गरेको छ ।
त्यसैगरी अर्को इजलासबाट पनि सुनुवाइ स्थगित गरी न्यायाधीश तथा सेवाग्राही भागाभाग गर्नुपरेको थियो ।
मुख्यन्यायाधीश डा बागचन्दका अनुसार दिउँसो २:३० बजे खाजा समयपछि आएको हावाहुरीले सुनुवाइ प्रभावित भएको हो ।