काठमाडौं । पुर्व सूचना तथा सञ्चारमन्त्री एवं प्रतिनिधिसभाका सांसद मोहनबहादुर बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ ।
बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता भएसँगै स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको सूचना आयोगले संघीय संसद् सचिवालयमा पठाउँदै छ । निलम्बनको सूचना सभामुखले संसदमा सुनाउनुपर्ने व्यवस्था छ ।
अख्तियारले सांसद मोहनबहादुर बस्नेतसहित नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्र लगायत १६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।