शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • गाउँपालिकाका उपाध्यक्ष, प्रशासकीय अधिकृतसहित १० जनालाई भ्रष्टाचार मुद्दामा सफाई


    विद्या राजपुत

    • आइतबार, पुस १ २०८००८:२१
    गाउँपालिकाका उपाध्यक्ष, प्रशासकीय अधिकृतसहित १० जनालाई भ्रष्टाचार मुद्दामा सफाई

    काठमाडौं । सल्यानको कालिमाटी गाउँपालिकामा भएको भ्रष्टाचारमा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाले सफाइ पाएका छन् । सडक निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले सबैलाई सफाई दिएको हो ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गाउँपालिकाकी तत्कालिन उपाध्यक्ष सनसिल्ता डि.सी., तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्री, इन्जिनियर टेक बहादुर के.सी, योजना शाखा प्रमुख जयराम घर्ती, रोजगार संयोजक सुवाश वुढाथोकी, वडा नं. ७ का वडाअध्यक्ष नैन सिंह राना र सव–इन्जिनियर दिपेन्द्र बहादुर शाहीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा दाबी नपुग्ने भन्दै सफाई दिएको हो । 

    गाउँकार्यपालिकाको कार्यालय वडा नं. ७ मा आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत घुइयावारी (रिङरोड योजना) मुलसड्क विस्तार नाला सुधार तथा ग्रावेल योजनामा अनियमितता भएको अख्तियारको दाबी थियो ।

    नाला सुधार तथा ग्रावेल योजनामा निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई पेश भएको झुट्टा बिल भरपाई स्वीकृत गरी भुक्तानी गरी अनियमितता भएको अभियोग थियो ।

    जसमा उपभोक्ता समितिका अध्यक्ष गणेश वुढा, सचिव कृष्णा सार्की र कोषाध्यक्ष गिता कुमारी वोहराविरुद्ध समेत मुद्दा दायर भएकोमा उनीहरुले पनि सफाई पाएका छन् ।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत


  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ