काठमाडौं । देशका केही सानाठूला नदीमा आज (असार २६) पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन डोटी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालीकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चुला र बैतडी भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ रहने महाशाखाको अनुमान छ ।