काठमाडौँ । सेयरबजारमा १० महिनायताकै उच्च कारोबार भएको छ । बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो ।
यसअघि २०८१ भदौ ११ गते १८ अर्ब ६४ करोड ९५ लाखको सेयर कारोबार भएको थियो । लचिलो मौद्रिक नीति कार्यान्वयन सुरु भएकै दिन नेप्से सूचक र कारोबार रकम ह्वात्तै बढेको हो । आज सूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा चढेको छ ।
२.७१ प्रतिशतले बढेको बजारमा ३ करोड ८६ लाख कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ । साताको अन्तिम कारोबार दिन बजार खुलेयता निरन्तर बढेको थियो । यस दिन २४० सेयरको मूल्य बढ्दा ९ वटाको मात्रै घटेको छ ।
ट्रेड टावर, शुभम पावर, थ्रिस्टार हाइड्रो, इस्टर्न हाइड्रो र वाराही हाइड्रोको सेयर सर्वाधिक दरमा बढेका हुन् । यी सेयरहरु क्रमशः १०, ९.९९, ९.९९, ९.९० र ९ प्रतिशतले बढेका छन् ।
आज कारोबारमा सामेलमध्ये सेयरहरुको अधिकतम गिरावट दर ७.५८ प्रतिशत छ । एनआईबीएल स्टेबल फन्डको सबैभन्दा धेरै दरमा मूल्य घटेको हो ।
यसबाहेक एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड, रिलायबल समृद्धि योजना, मुक्तिनाथ म्युचुअल फन्ड, कुमारी बैंकको डिबेन्चरका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।
सर्वाधिक कारोबार भने आज नेपाल पुनर्बीमा कम्पनीको ८४ करोडको भएको छ । यसबाहेक बुटवल पावर कम्पनीको ६० करोड, राधी विद्युतको ५६ करोड, सानिमा माई हाइड्रोपावर ४२ करोड र ङादी ग्रुप पावरको ४१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा अन्य समूह हावी देखिएको छ । ५.०९ प्रतिशतले यो समूहको सूचक बढ्दा जीवन बीमा ३.१४, लगानी ३.१७, जलविद्युत् ३.०४ प्रतिशतले बढेका छन् ।
त्यसैगरी होटल र फाइनान्स क्रमशः २.६० र २.८० प्रतिशतले बढ्दा वाणिज्य बैंक १.७६, विकास बैंक १.९५, फाइनान्स २.८० उत्पादन २.९४, माइक्रोफाइनान्स २.५०, म्युचुअल फन्ड ०.०४, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशतले बढेको छ ।