काठमाडौँ । आइतबार दिउँसो वाग्मती प्रदेशमा पनि धेरै भारी वर्षाको सम्भावना छ । वाग्मती प्रदेशका एक/दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
वाग्मती प्रदेशभित्रै पर्ने देशको राजधानी काठमाडौंमा पनि धेरै भारी वर्षाको सम्भावना रहेको उनले बताइन् । “वाग्मती प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,” मौसमविद् मानन्धरले भनिन्, “काठमाडौंमा पनि त्यस्तो सम्भावना छ ।”
आइतबार दिउँसोको समयमा काठमाडौंमा भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । “छोटो समय भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,” उनले भनिन्, “मुभिङ हुने समयमा थोरै समय त्यस्तो हुनसक्छ ।”
हाल देशभर मनसुनी वायुको प्रभाव छ । “मनसुनको न्यूनचापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ,” महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
भारी वर्षा कति ?
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।
“सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने तथा हावाहुरीले समेत आंशिक असर पुर्याउन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,” महाशाखाले भनेको छ ।