काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा आज (साउन ४) पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, कास्की, पर्वत, म्याग्दी, बागलुग, लमजुङ, गोरखा, सल्यान, सुर्खेत र दैलेखमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च सम्भावना’ रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
सोलुखुम्बु, रामेछाप, भोजपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, जाजरकोट, कालीकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी र डडेलधुरा भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाले जनाएको छ ।
यस दिन बिहानको मापनमा कोसीको सहायक तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास छ । नारायणी, कर्णाली, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।