काठमाडौँ । टेरामक्स प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा ३ लाख धरौटी बुझाएर रिहा भएका छन् ।
आइतबार विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झासँग भ्रष्टाचार मुद्दाको ३ लाख रूपैयाँ धरौटी माग गरेको थियो ।
उनी अदालतले माग गरेको धरौटी रकम बुझाएर रिहा भएका हुन् । यस प्रकरणमा तत्कालीन सञ्चारमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाउपर ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
बस्नेतसँग अदालतले २५ लाख धरौटी माग गरेको थियो । उनी सञ्चारमन्त्री छँदा नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) का उपकरण तथा प्रणाली खरिदमा भ्रष्टाचार गरेको अभियोग छ । यसअघि गत फागुनमा विशेष अदालतसहित झासहित ३ जनालाई एमडीएमएस खरिद घोटालामा दोषी ठहर गरिसकेको छ । त्यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित २० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।