काठमाडौँ । यमनको हुथी विद्रोही इजरायली हवाई आक्रमणमा आफ्ना स्वघोषित प्रधानमन्त्री अहमद गालेब नासेर अल-राहवीको मृत्यु भएको पुष्टि गरेका छन् ।
इजरायल प्यालेस्टाइनबीच गाजामा जारी युद्धका दौरान यो उनीहरूको सबैभन्दा ठूलो क्षति भएको हुथी विद्रोहीहरूले बताएका छन् । तर, यो दाबीको स्वतन्त्र स्रोतबाट भने पुष्टि भएको छैन ।
इरान समर्थित समूहले बिहीबार इजरायल रक्षा बलले यमनको राजधानी सानालाई लक्षित गर्दा धेरै अन्य वरिष्ठ अधिकारीहरू मारिएको बताएको थियो । एएफपीका अनुसार अल-रहावीलाई अन्तिमपटक बुधबार सानामा आयोजित एक सार्वजनिक कार्यक्रममा देखिएको थियो ।
हुथी विद्रोहीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हामी योद्धा अहमद गालिब नासिर अल-रहावीको निधन भएको घोषणा गर्दछौं । उनका धेरै सहयोगीहरूसहित उनको मृत्यु भएको छ। उनलाई इजरायलले लक्षित गरेको थियो ।'
यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका चीफ अफ स्टाफ, रक्षा मन्त्री र अन्य अधिकारीहरूलाई लक्षित गरेको दाबी गरेको थियो । तर महदी मशातको बयानले मारिएका व्यक्तिहरूमध्ये हुथी विद्रोहीका रक्षा मन्त्री पनि रहेका छन् वा छैनन् भन्ने स्पष्ट भएको छैन ।