काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले हालै सरकारले गरेको सामाजिक संजाल बन्द गर्ने निर्णयले प्राविधिक कठिनाई उत्पन्न हुनसक्ने बताएको छ ।
आइस्पानले भदौ १९ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रिलाई दिएको ध्यानाकर्षण पत्रमा एकैपटक सबै सामाजिक सञ्जालहरु बन्द गर्न प्राविधिकरुपमा कठिन हुने र साइबर जोखिम बढ्ने चेतावनी दिएको छ ।
संस्थाले विगतमा टेलिग्राम बन्द गर्दा भएको प्राविधिक समस्यालगायतका विषयलाई उदृत गर्दै यसले इन्टरनेट सेवा प्रदायकहरुलाई आर्थिक र प्राविधिक भार बढाउने चेतावनी दिएको छ ।
“नेपालको डिजिटल पूर्वाधारको प्रमुख सञ्चालकको रूपमा हाम्रो व्यापक अनुभवको आधारमा, हामी सामाजिक सञ्जाल प्लेटफर्महरूमा वृहत प्रतिबन्ध लागू गर्दा गम्भीर प्राविधिक, आर्थिक र राष्ट्रिय सुरक्षा प्रभावहरू हुने हाइलाइट गर्न चाहन्छौं । त्यसैले हामी राष्ट्रिय हितहरूलाई सञ्चालन वास्तविकताहरूसँग सन्तुलनमा राख्ने सहयोगी दृष्टिकोणको आग्रह गर्दछौं ।” आइस्पानले भनेको छ ।
यसैगरी विगतमा टिकटकमा लगाईएको अघिल्लो अस्थायी प्रतिबन्धले आइएसपीहरूले गरेको विशाल संचालन परिचालन र प्राविधिक बोझ प्रदर्शन गरेको भन्दै पत्रमा भनिएको छ, “ठूला आइएसपीहरूले आंशिक अनुपालन व्यवस्थापन गरे, जबकि साना आइएसपीहरूले सीमित जनशक्ति र प्राविधिक क्षमताका कारण संघर्ष गरे । यी चुनौतीहरूले सेवाहरू अवरुद्ध पारे र सबै आइएसपीहरूको व्यापार निरन्तरतामा प्रतिकूल असर पारे ।”
आइस्पानले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत दिएको उक्त पत्रमा एकैपटक सामाजिक सञ्जाल बन्द गर्दा विभिन्न ७ उच्च जोखिमहरु देखिने चेतावनी समेत दिएको छ ।
आइस्पानकाअनुसार साइबरसुरक्षा जोखिमहरू,सीडीएन र प्लेटफर्ममा हुने लगानी विश्वासको क्षति, इन्टरनेट गुणस्तरको गिरावट, सञ्चालन र ब्यान्डविथ लागत बढ्ने, विदेशी मुद्रा बाहिरिने, कानुनी र सञ्चालन अस्पष्टता, तथा नकारात्मक विश्वव्यापी धारणा जस्ता जोखिमहरु रहेको बताएको छ । यस बाहेक आर्थिक र सामाजिक असर पर्ने समेत उल्लेख गरेको छ ।
आइस्पानले पत्रमा निम्न तीन अनुरोध गरेको छ:-
१। आईएसपीहरु, निजी क्षेत्र, नागरिक समाज र सामाजिक सञ्जाल प्लेटफर्मका प्रतिनिधिहरू सम्मिलित व्यापक, समावेशी परामर्श सुरु गर्नुहोस्।
२। डिजिटल सेवाहरू वा आर्थिक गतिविधिहरूमा बाधा नपुर्याई जवाफदेहितालाई प्रवर्द्धन गर्ने समानुपातिक र सन्तुलित नियामक उपायहरू अपनाउनुहोस्।
३। प्रवर्तनकारी उपायहरू आवश्यक परेमा आईएसपीहरूको लागि पर्याप्त नेतृत्व समय, कानुनी स्पष्टता र प्राविधिक मार्गदर्शन प्रदान गर्नुहोस्।
यसका साथै आइस्पानले सन्तुलित, प्रभावकारी र भविष्यका लागि तयार नियामकिय ढाँचा विकास गर्न सरकारलाई सहयोग गर्न आफ्नो प्राविधिक विशेषज्ञता, विश्वव्यापी सिकाइ र सञ्चालन अन्तर्दृष्टि साझा गर्न तयार भएको जानकारी दिएको छ भने राष्ट्रिय हित र आर्थिक वृद्धि दुवैको रक्षा गर्दै नेपालको डिजिटल इकोसिस्टम सुरक्षित, नवीन र लचिलो रहन सुनिश्चित गर्न सक्ने उल्लेख गरेको छ।