काठमाडौं । सोमबार हुन लागेको ‘जेनजी पुस्ता’को प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । निषेधित क्षेत्रबाहेकका क्षेत्रमा शान्तिपूर्ण रूपमा भेला हुने र आफ्ना मागहरू राख्न पाउने भन्दै अनुमति दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले भोलिको प्रदर्शनका लागि अनुमति दिएको जानकारी दिए । “भोलिको प्रदर्शनका लागि निषेधित क्षेत्रबाहेकका ठाउँमा प्रदर्शन गर्नको लागि अनुमति दिइएको छ । शान्तिपूर्ण प्रदर्शनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइनेछ,” उनले भने ।
वेक अप नेपाल क्याम्पेनका नाममा कार्यक्रम संयोजक सबल गौतम र पुरुषोत्तम यादवले शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रशासनमा पत्र पठाएका थिए ।
सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताको प्रदर्शन सोमबार बिहान ११ बजे काठमाडौंको माइतीघर र नयाँ बानेश्वरमा हुँदै छ ।