काठमाडौं । भदौ २४ गतेको जेन जी विध्वंशमा नष्ट पारिएको सर्वोच्च अदालतको सूचना प्रणाली र वेबसाइट पुनः सञ्चालनमा आएको छ । आपराधिक समूहले गरेको तोडफोड र आगलागीपछि छ हप्तासम्म पूर्ण रूपमा अवरुद्ध भएको वेबसाइट आजदेखि पूर्ववत् रुपमा सञ्चालनमा आएको छ ।
सर्वोच्च अदालतले आफ्नो इलेक्ट्रोनिक डेटा सफलतापूर्वक पुनः प्राप्त गरेको जनाएको छ। विध्वंशपछि अदालतका डिजिटल अभिलेख,फाइल र प्रशासनिक प्रणालीहरू क्षतिग्रस्त भएका थिए ।
र्वोच्च अदालतले आफ्नो र मातहतका अदालतको न्यायिक कामकारवाहीका लागि मुद्दा व्यवस्थापन प्रणाली(केस म्यानेजमेन्ट सिस्टम–सीएमएस) सञ्चालन गर्छ । भदौ २४ को आगजनीपछि सर्वोच्च अदालतकै भवनको माथिल्लो तलामा रहेको सूचना–प्रविधि कक्षमा क्षति पुगेपछि सीएमएस अवरुद्ध भएको थियो भने सर्वोच्च अदालतको वेवसाईट नै बन्द भएको थियो ।
अदालत खुलेको केही सातापछि वेवसाइट सञ्चालन भएपनि त्यसमा सबै डाटाहरु हटेका थिए । यो एक महिनाको अवधिमा हेटौडामा रहेको ‘ब्याकअप सेन्टर’बाट डाटा रिकभर गरेर वेवसाइट सञ्चालनमा ल्याइएको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।