काठमाडौं । ४३ वर्षदेखि क्यामरूनको सत्ता सम्हाल्दै आएका पल बियाले बिहीबार पुनः राष्ट्रपति पदको शपथ लिएका छन् । यो उनको राष्ट्रपतिको रूपमा लगातार आठौँ कार्यकाल हो ।
मध्यअफ्रिकी देशका ९२ वर्षीय पल बिया अब सात वर्षसम्म देशको प्रमुख रहनेछन् । उनी बाँचिरहेको अवस्थामा ९९ सय वर्षको उमेरसम्म क्यामुरुनको राष्ट्रपति पदमा रहनेछन् ।
आफ्नो शपथग्रहण सम्बोधनमा विश्वकै सबैभन्दा वृद्ध राष्ट्रपतिले विरोध प्रदर्शनका क्रममा मारिएका पीडितहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै अशान्तिको लागि गैरजिम्मेवार राजनीतिज्ञहरूलाई दोष दिए ।उनले भने, “म तपाईंहरूलाई के आश्वासन दिन सक्छु भने व्यवस्था कायम हुनेछ ।” उनले देशलाई संटमा धकेल्नु व्यर्थ भएको बताए ।
गत महिना भएको निर्वाचनका क्रममा उठेका धाँधलीका आरोपहरूको बावजुद राष्ट्रपति बियाले निर्वाचन प्रक्रियालाई सन्तोषजनक भनेका थिए ।
क्यामरूनमा निर्वाचनको समयमा ठूलो विरोध प्रदर्शन भएको थियो । प्रदर्शनमा सरकारी दमन हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । १२ सय भन्दा बढी व्यक्ति पक्राउ परेको देशको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
अक्टोबर १२ मा सम्पन्न निर्वाचनमा बियाले ५३.७ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी इसा चिरोमा बाकरीले ३५.२ प्रतिशत मत पाएका थिए ।
चिरोमा बाकरीले आफू नै चुनावको वास्तविक विजेता भएको अडान लिँदै आएका छन् । उनले निर्वाचन अधिकारीहरूलाई धाँधलीको आरोप लगाएका छन् । यो आरोपलाई सरकारले अस्वीकार गर्दै आएको छ ।
चिरोमा बाकरी पहिले बियाका सहयोगी र सरकारमा मन्त्री रहिसकेका छन् । यद्यपि, यसपटक विपक्षीका रूपमा उभिएका बाकरीले अप्रत्याशित रूपमा युवाहरूलाई आन्दोलित र परिवर्तनका लागि उत्साहित पारेका छन् । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि पल बिया क्यामरूनका दोस्रो राष्ट्रपति बनेका थिए । बीबीसी