काठमाडौं । दक्षिण अफ्रिकामा श्वेत किसानहरूसँग दुर्व्यवहार भइरहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारका कुनै पनि अधिकारी यस वर्ष दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन् ।
ट्रम्पले पहिले नै आफू यस सम्मेलनमा नजाने बताइसकेका थिए । उनको स्थानमा उपराष्ट्रपति जेडी भान्स जाने तयारी रहेको बताइएको थियो । तर, अब भान्स पनि नजाने भएका छन् ।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै भने, “दक्षिण अफ्रिकामा जी–२० हुनु पूर्णरूपमा लाजमर्दो कुरा हो ।” उनले अफ्रिकी मूलका श्वेत किसानहरूमाथि भइरहेको हिंसा, हत्या र उनीहरूको जग्गा–जमीन जफत गर्नेगरेको आरोप लगाएका छन् । ट्रम्प प्रशासनले लामो समयदेखि दक्षिण अफ्रिकाको सरकारमाथि अल्पसंख्यक किसानहरूसँग भेदभाव गरेको र उनीहरूमाथि हुने हमलाहरूलाई अनुमति दिएको दोष लगाउँदै आएको छ ।
यस विषयमा रंगभेद प्रणाली समाप्त भएको ३० वर्षभन्दा बढी भइसक्दा पनि श्वेत मानिसहरूले काला नागरिकहरूभन्दा धेरै राम्रो जीवन बिताइरहेका दक्षिण अफ्रिका सरकारको भनाइ छ ।
राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पलाई श्वेत किसानहरूमाथि अत्याचार भइरहेको भन्ने आरोप ‘पूर्ण रूपमा झूटो’ भएको बताएका छन् ।
यो हप्ता अमेरिकाको मियामीमा बोल्दै ट्रम्पले दक्षिण अफ्रिकालाई जी–२० बाट बाहिर राख्नु पर्ने बताएका थिए । यसै वर्षको सुरुमा विदेश मन्त्री मार्को रुबियोले पनि विदेश मन्त्रीहरूको जी–२० बैठक बहिष्कार गरेका थिए । हिन्दुस्तान टाइम्स