काठमाडौं । नेपाली प्रहरीले सर्वोच्च अदालत आगजनी गर्ने समूहमा संलग्न पात्रहरूको खोजी कार्य तीव्र पारेको छ ।
प्रहरीले जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ गर्न प्रहरीले देशभर आक्रामक अभियान अघि बढाइरहेका बेला अदालत जलाउनेलाई विशेष प्राथमिकता राखेको हो ।
पछिल्ला घटनाक्रममा सर्वोच्च अदालत, विशेष अदालतसहित देशभरका २३ वटा अदालतमा आगजनी भएको थियो । त्यसो त, सर्वोच्च र विशेष अदालतले यसअघि नै प्रहरीलाई अनुसन्धान तीव्र पार्न औपचारिक निवेदन दिएका थिए ।
त्यही आधारमा काठमाडौं प्रहरीको विशेष टोलीले आगजनी गर्ने समूहको पहिचान र खोजी तीव्र पारेको हो । प्रहरी टोली बनाउँदै हतियार लुट्ने समूहदेखि सरकारी कार्यालयमा आगो लगाउने समूहसम्मको छुट्टाछुट्टै रूपमा अनुसन्धान भइरहेको छ ।
विशेषगरी सर्वोच्च अदालतमा आगजनी गर्ने समूहको पहिचानमा प्रहरीले संकलित फुटेज र दृश्य सामग्रीका आधारमा अनुसन्धान अघि बढाएको छ ।
तर, अनुसन्धान प्रभावित गर्नेगरी शुक्रबार ‘जेन–जी मुभमेन्ट अलायन्स,’ ‘काउन्सिल अफ जेन–जी,’ सात प्रदेश संयोजक र ‘जेन–जी फ्रन्ट’ले प्रधानमन्त्री सुशीला कार्कीलाई ११ बुँदे प्रस्तावित सम्झौतापत्र बुझाएका छन् । त्यसको २ नम्बर बुँदामा ज्यान मुद्दा र बलात्कारबाहेक अन्य मुद्दामा पक्राउ परेकालाई थुनामुक्त गर्नुपर्ने, बाँकी सबै अनुसन्धान छुट्टै आयोगलाई जिम्मा दिनुपर्ने माग राखेका छन्