काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङसमेत चारजना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा कुस्मा नगरपालिकाका तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य, मल्ल कन्स्ट्रक्सन एन्ड सप्लायर्स, पर्वत र उक्त फर्मका प्रोपाइटर लालबहादुर मल्ल छन् ।
कुस्मा नगरपालिका–७, खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन ठेकेदारको लापरबाहीले गुणस्तरीय नभएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ अनियमितता भएको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
दायर गरिएको मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरुङसँग एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ, तत्कालीन लेखा अधिकृत शर्मासँग १७ लाख दुई हजार ३४१ रुपैयाँ, तत्कालीन इन्जिनियर शाक्यसँग ९६ लाख ४१ हजार ८७४ रुपैयाँ र मल्ला कन्स्ट्रक्सनका प्रोपाइटरसँग एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।