बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम


    हुलाक प्रेस

    • शुक्रबार, पुस २५ २०८२१०:०६
    काठमाडौंको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

    काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौंको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताए । उनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताए ।

    गएको पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो । पुस १७ गते तापक्रम घटेर ४.६ मा आएकामा १९ गते ४.५ डिग्रीमा झरेको हो । यस्तै पुस २३, २४ मा ३ डिग्रीमा झरेको तापक्रम आज २.४ मा झरेको छ ।

    यस्तै, विभिन्न जिल्लामा पनि तापक्रम घटिरहेको छ । आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ७.७ डिग्री छ । जुम्लामा बिहीबार माइनस ८.१ सम्म तापक्रम झरेको थियो ।

    जोमसोममा आज माइनस पाँच डिग्री रहेको छ भने दोलखाको जिरीमा माइनस २.१ रहेको छ । आज डडेलधुराको न्यूनतम तापक्रम १.५, दिपायलको १.४, वीरेन्द्रनगरको २.५, ताप्लेजुङको ३.९ र लुम्लेको तापक्रम ३.६ डिग्री रहेको छ ।

    यस्तो छ मौसमी अवस्था
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम विभागले जानकारी दिएको छ ।

    आज साँझ जारी बुलेटिनमा कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम सफा रहेको जनाइएको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु/कुहिरो रहनुका साथै बाँकी तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने पनि विभागले जनाएको छ ।

    देशका तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले सावधानी अपनाउन र विभागको मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिनहुन अनुरोध गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ