काठमाडौं । जर्मनीका चान्सलर फ्रेडरिक मर्जले बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्तावहरूको समर्थन गरेका छन् । मर्जले अत्यधिक ‘स्क्रिन टाइम’ र यसले बालबालिकाको विकासमा पार्ने प्रभावका बारेमा चिन्ता व्यक्त गरेका हुन् ।
मर्जको भने, “यदि आज १४ वर्षका बालबालिकाको ‘स्क्रिन टाइम’ पाँच घण्टा वा त्योभन्दा बढी छ, र यदि समाजसँग उनीहरूको सम्बन्ध केवल यही माध्यमबाट मात्र छ भने, बालबालिकाको व्यक्तित्वमा देखिने कमजोरी र उनीहरूको सामाजिक व्यवहारमा आउने समस्याहरू देखेर हामी अचम्ममा पर्नु हुँदैन ।” मर्जले बुधबार प्रसारित हुने राजनीतिक पोडकास्ट ‘माख्टवेक्सेल’को एउटा शृंखलामा यस्तो कुरा बताएका हुन् ।
शुक्रबार हुने पार्टी कंग्रेसको सुरुआतअघि, मर्जको रूढीवादी पार्टी ‘क्रिश्चियन डेमोक्र्याटिक युनियन’को क्षेत्रीय शाखाले इन्स्टाग्राम, टिकटक र फेसबुक जस्ता प्लेटफर्महरू प्रयोग गर्नका लागि न्यूनतम उमेर १६ वर्ष हुनुपर्ने प्रस्ताव राखेको छ । यसमा उमेरको प्रमाणीकरण अनिवार्य गर्नुपर्ने कुरा पनि उल्लेख गरिएको छ ।
मर्जले आफूलाई यस प्रस्तावप्रति गहिरो सहानुभूति रहेको बताए । साथै, उनले सत्तारूढ गठबन्धनमा रहेको ‘सोसल डेमोक्र्याटिक पार्टी’ को यस्तै पहलप्रति पनि समर्थन जनाएको छ, जसमा १४ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल पूर्ण रूपमा प्रतिबन्धित गर्ने प्रस्ताव छ ।
बालबालिकालाई सामाजिक सञ्जालबाट बचाउनका लागि विश्वका धेरै देशहरूमा यस्ता प्रस्तावहरूमाथि विचार भइरहेको छ । यसको सुरुआत अस्ट्रेलियामा प्रतिबन्ध लगाएर भएको हो । युरोपका धेरै देशहरू पनि बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने तयारीमा छन् ।