बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • निर्वाचनको दिन पानी पर्छ ?


    हुलाक प्रेस

    • शुक्रबार, फागुन १५ २०८२०८:३६
    निर्वाचनको दिन पानी पर्छ ?

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ६ दिन बाँकी छ । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले बताएको छ । 

    निर्वाचन नजिकिँदै जाँदा केही दिनदेखि मौसममा भने बदली भइरहेको छ । केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात भइरहेको छ । कतिपय स्थानमा असिना पानी परेको छ । 

    आजदेखि निर्वाचनको दिन (फागुन २१) गतेसम्म मौसम कस्तो हुनेछ ? मौसमविद् विनोद पोखरेल आइतबारसम्म मौसम अहिलेको जस्तै हुने बताउँछन् । 

    “बिहीबार नेपालको गण्डकी, वाग्मती र कोसी प्रदेशका केही ठाउँमा हल्का वर्षा भयो । शनिबार/आइतबारसम्म मौसम यस्तै हुने देखिन्छ,” मौसमविद् पोखरेल भन्छन्, “अपराह्नमा पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा हुनेछ ।” 

    सोमबारदेखि केही ठाउँमा बादल लागे पनि मौसम सफा हुँदै जाने उनी बताउँछन् । “चुनावको दिन (फागुन २१ गते) घमाइलो हुनेछ,” मौसमविद् पोखरेल फेसबुकमा लेख्छन् । 

    जल तथा मौसम विज्ञान विभागले तीन दिनअगाडि निर्वाचन विशेष बुलेटिन जारी गर्ने बताएको छ । यसैबीच, आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । 

    बिहान तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभामामा साधरणतया बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

    तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।  

    विभागले राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहने बताएको छ । हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराईमा मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।  


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ