काठमाडौं । हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरू पग्लने दर सन् २००० यता दोब्बर भएको प्रतिवेदन सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
२१ मार्चको विश्व हिमनदी दिवसको अवसर पारेर प्रकाशित दुई अध्ययन प्रतिवेदनहरूले हिन्दुकुश क्षेत्रमा हिमनदी परिवर्तनको अहिलेसम्मकै सबैभन्दा विस्तृत प्रमाण प्रस्तुत गरेका छन् । ती प्रतिवेदनहरूमा ‘सन् १९९० देखि २०२० सम्म हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदीको परिवर्तनशील गतिशीलता’ र ‘हिन्दु कुश हिमालय हिमनदी परिदृश्य २०२६ : हिमालयी हिमनदी अनुगमनको ५० वर्षको अन्तर्दृष्टि’ समावेश छन् ।
सन् १९९० देखि २०२० को बीचमा हिन्दुकुश हिमालयका हिमनदीले कुल क्षेत्रफलको १२ प्रतिशत र हिउँ भण्डारको ९ प्रतिशत हिस्सा गुमाइसकेका यो अध्यनको निष्कर्ष छ । यी परिवर्तनहरू सबैतिर एकैनासको नभएको, दक्षिण र पूर्व क्षेत्रमा सबैभन्दा तीव्र रहेको अध्ययनले जनाएको छ ।
अध्ययन प्रतिवेदनले सन् १९७५ यता हिमनदीको मोटाइ २७ मिटरसम्म घटेको खुलासा गरेको छ । यसका कारण ‘एसियाका वाटर टावर’का रूपमा चिनिने हिन्दुकुश हिमालयबाट हिउँ पग्लिँदा तल्लो तटीय क्षेत्रका करिब दुई अर्ब मानिसहरूको पानीमा निर्भरता जोखिममा परेको उल्लेख गरिएको छ ।
हिन्दुकुश हिमालय क्षेत्रमा रहेको हिउँलाई पृथ्वीको ध्रुवीय क्षेत्रभन्दा बाहिरको सबैभन्दा ठूलो हिउँ भण्डार मानिन्छ । यहाँ करिब ५५ हजार ७८२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएका ६३ हजार ७०० भन्दा बढी हिमनदीहरू छन् । यी हिमनदीहरू एसियाका कम्तीमा १० वटा प्रमुख नदी प्रणालीका स्रोत मानिन्छन् ।
यसले अर्बौं मानिसहरूको खाद्य, पानी, ऊर्जा र जीविकोपार्जनको सुरक्षामा टेवा पुर्याइरहेको बताइएको छ । यद्यपि, समुद्र सतहबाट ४ हजार ५०० देखि ६ हजार मिटर उचाइमा रहेका यी हिमनदी क्षेत्रको करिब ७८ प्रतिशत भाग बढ्दो तापक्रमको उच्च जोखिममा रहेको अध्ययनमा पाइएको छ ।
“यो कुनै टाढाको समस्या होइन । यो त वर्तमानमै भइरहेको वास्तविक संकट हो, जहाँ हरेक गर्मी र मनसुनमा नयाँ विपद्हरू देखिइरहेका छन् । यस शताब्दीमा हिउँ पग्लिने दर दोब्बर हुनुले हामी सबैलाई कदम चाल्न झकझक्याउनुपर्छ,” इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले भने ।
इसिमोडले गरेको विस्तृत विश्लेषणअनुसार, सन् १९९० र २०२० को बीचमा हिन्दुकुश हिमालयका हिमनदीहरूले आफ्नो कुल क्षेत्रफलको करिब १२ प्रतिशत र अनुमानित हिउँ भण्डारको ९ प्रतिशत गुमाएको पाइएको छ ।
इसिमोडका रिमोट सेन्सिङ विश्लेषक तथा ‘हिमनदी गतिशीलता प्रतिवेदन’का प्रमुख लेखक सुदन विकास महर्जनले सबैभन्दा तत्कालको खतरा साना हिमनदीहरूबाट रहेको बताएका छन् ।
“सन् १९९० र २०२० को बीचमा हिन्दुकुश हिमालयका हिमनदीहरूले आफ्नो कुल क्षेत्रफलको करिब १२ प्रतिशत गुमाएका छन् । तर, यो क्षति विशेष गरी ०.५ वर्ग किलोमिटरभन्दा साना हिमनदीहरूमा बढी देखिएको छ,” महर्जनले भने ।
‘हिन्दुकुश हिमालय हिमनदी परिदृश्य २०२६’ ले अनुगमन गरिएका ३८ वटा हिमनदीहरूको तथ्यांकलाई समेटेको छ, जसले सन् २००० पछि हिमनदी क्षतिको दर दोब्बर भएको देखाएको छ । यसले हिउँमण्डलका केही भागहरू फर्कन नसकिने गरी पग्लिने बिन्दुनजिक पुग्न लागेको संकेत गर्ने बताइएको छ ।
यद्यपि, अध्ययन प्रतिवेदनले तथ्यांकको ठूलो अभावलाई पनि औँल्याएको छ, जसमा ती ३८ मध्ये केवल सातवटाले मात्र विश्व हिमनदी अनुगमन सेवाका विश्वव्यापी मापदण्डहरू पूरा गरेका छन् । काराकोरम, सिक्किम, जाँस्कर र भुटानजस्ता प्रमुख हिमनदी क्षेत्रहरू अझै पनि ठूलो मात्रामा अनुगमनबाहिर छन् ।
प्रतिवेदनले हिमनदीको क्षति भौगोलिक रूपमा फरक–फरक रहेको उल्लेख गरेको छ । सबैभन्दा बढी क्षेत्रफलको क्षति पूर्वी हेंगडुआन शान पहाडहरूमा देखिएको छ, जहाँ केही क्षेत्रले तीन दशकमा आफ्नो हिमनदी क्षेत्रफलको ३३ प्रतिशतसम्म गुमाएका छन् । यद्यपि, क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो क्षति सिन्धु, गंगा र ब्रह्मपुत्र नदी बेसिनहरूमा केन्द्रित छ, जहाँ यस क्षेत्रका ७४ प्रतिशतभन्दा बढी हिमनदीहरू छन् ।
१० वर्ग किलोमिटरभन्दा ठूला हिमनदीहरूले यस क्षेत्रको प्राकृतिक पानी भण्डारको करिब ४० प्रतिशत हिस्सा ओगटेको देखिएको छ । २५ वटा सबैभन्दा ठूला हिमनदीहरूमध्ये १८ वटा रहेको काराकोरम क्षेत्र दीर्घकालीन रूपमा पानी, खाद्य र विपद् जोखिमको उच्च चपेटामा रहेको र यसले सम्पूर्ण क्षेत्रमा असर पार्ने उल्लेख गरिएको छ ।