काठमाडौं । इरानलाई नयाँ नयाँ दबाब र चुनौती पेस गर्दै आएको ह्वाइट हाउस बुधबार शान्त देखिएको छ।वार्ताबारे विश्वले अमेरिकातर्फ नजर राखिरहेको समयमा ह्वाइट हाउस शान्त रहेको हो ।
ह्वाइट हाउसबाट बुधबारको समाचार सञ्चारकर्मीहरूलाई हटाइएको मात्रै रहेको बीबीसीले उल्लेख गरेको छ । इरान-अमेरिका वार्ताबारे समाचार सम्प्रेषणमा क्रियाशील सञ्चारकर्मीहरूलाई के कति कारणले बाहिर पठाइयो भन्ने केही खुलेको छैन ।
केही परिवर्तन नभएको अवस्थासम्म ट्रम्पले पत्रकारको सामना नगर्ने अपेक्षा सञ्चारकर्मीहरूले गरेका छन् । उनको कार्यतालिका पूर्णतया कोठे बैठकमा सीमित रहेको बीबीसीले उल्लेख गरेको छ ।
ह्वाइट हाउसले सोमबार नै आफ्ना प्रतिनिधिमण्डल इस्लामाबाद पठाउने जानकारी ट्रम्पले गराएका थिए । यद्यपि अमेरिकी सर्त मान्न इरान तयार नभएपछि उसले प्रतिनिधिमण्डल पठाएको छैन ।
मंगलबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जेडी भान्स, रक्षामन्त्री पिट हेगसेथ, विदेशमन्त्री मार्को रुबियोले छलफल गरेका थिए । उक्त छलफलमा वार्ताको प्रतिनिधिमण्डलमा रहेका विशेष दूत स्टिफ विटकफ र जेराद क्रुसर पनि सहभागी थिए ।
मंगलबार इरानसँगको युद्धविराम लम्ब्याउने पक्षमा आफू नरहेको चेतावनी ट्रम्पले दिएका थिए । ''अमेरिकासँग समय छैन । युद्धविराम लम्ब्याउने पक्षमा म छैन,'' उनले सामाजिक सञ्जालमार्फत सन्देश दिएका थिए ।
युद्धविरामको समय घर्किँदा पनि अहिले ह्वाइट हाउसले कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन । यस विषयमा ट्रम्पले पनि मुख खोलेका छैनन् ।
अन्तर्राष्ट्रिय केही सञ्चार माध्यमहरूमा भने ट्रम्पले एकतर्फी युद्धविराम अघि सारेको समाचार प्रकाशित भएको छ । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा छलफलपछि युद्धविराम लम्बाएको विवरण द गार्डियनमा प्रकाशित छ । ''इरानले शान्ति प्रस्ताव नपठाउँदासम्म युद्धविराम लम्बिन्छ,'' द गार्डियनको विवरणमा उल्लेख छ ।
वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानको अनुरोधका कारण युद्धविरामको अवधि बढाउनुपरेको आशय ट्रम्पले व्यक्त गरेको विवरण अलजजिरामा प्रकाशित छ ।
युद्ध नगर्ने तर होर्मुजमै नाकाबन्दी गरेर इरानमाथि दबाब बढाउने रणनीतिमा ट्रम्प रहेको उक्त विवरणमा उल्लेख छ । यो नीतिले इरानलाई वार्तामा ल्याउन सहयोग पुग्ने विश्वास ट्रम्पको रहेको उक्त समाचारमा उल्लेख छ।
यता इरानले अमेरिकाले चाल्ने कदमको प्रतिवादका लागि आफू तयार रहेको बताएको छ । अमेरिका सहमतिको असल नियतका साथ प्रस्तुत नभएको आरोप इरानले लगाएको छ । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी नहटाउँदासम्म वार्ताको वातावरण नबन्ने इरानको भनाइ छ ।
इरानी राष्ट्रपति मसुद पेजिसकियनले एक्समा लेखेकाे छन्,''अमेरिकी ढोंगी बयानबाजी र कार्यलाई विश्वले नियालिरहेको छ । असल नियतका वार्ता र संवादलाई इरानले सधैँ स्वागत गर्छ तर प्रतिबद्धताको उल्लंघन र खराब नियतकै कारण वार्ता हुन सकिरहेको छैन,'' पेजिसकियनले भनेका छन् ।
इरानी प्रतिनिमण्डलका प्रमुख सभामुख मोहम्मद बाघर गलिबाफले अमेरिकाले युद्धविरामको मर्म पालना नगर्दासम्म होर्मुजमा अवरोध कायमै रहने बताएका छन् । ''इरानी बन्दरगाहमा नाकाबन्दी गरेर अमेरिकाले विश्व अर्थतन्त्रलाई नै बन्धक बनाएको छ । युद्धविरामको मर्मको उल्लंघन जारी रहँदासम्म अमेरिकासँग वार्ता हुनसक्दैन,'' गलिबाफको भनाइ उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
गलिबाफ अमेरिकी धाकधम्कीबाट इरान नडराउने बताएका छन् । सैन्य शक्ति र युद्धबाट अमेरिकाले आफ्नो उद्देश्य प्राप्त गर्न नसक्ने गलिबाफको भनाइ छ ।
अमेरिकी जस्तोसुकै दबाब र चेतावनीको सामना गर्न इरान सक्षम रहेको उनले बताएका छन् । अमेरिकाले इरानी जनताको अधिकार सम्मान नगर्दासम्म युद्ध अन्त्य नहुने उनले बताएका छन् । ''सैन्य तुजुक र धाकधम्कीकाबीच अमेरिकाले आफ्नो उद्देश्य प्राप्त गरेन । अमेरिकासँग एक वार्ता विकल्प भनेको इरानी जनताको अधिकारको सम्मान हो,'' उनको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
यो साता इरान र अमेरिकाबीच वार्ता हुने अपेक्षा गरिएको थियो । हालसम्म त्यसको कुनै पनि छनक देखिएको छैन। इरान र अमेरिकाबीच फेब्रुअरी २८ बाट युद्ध सुरु भएको थियो ।
पाकिस्तानको मध्यस्थतामा उनीहरूबीच अप्रिल ७ मा १५ दिनको युद्धविराम घोषणा भएको थियो । उनीहरूबीच घोषणा भएको युद्धविरामको अवधि समाप्त भइसकेको छ ।
अमेरिकाले इरानको परमाणु कार्यक्रम सम्पूर्ण रूपमा बन्द रहनुपर्ने माग अघि सारेको छ । यस्तै होर्मुजमा अवरोध हुन नहुने माग राखेको छ । यता, इरानले अमेरिका धेरै सर्त र खराब नियतका साथ प्रस्तुत भइरहेकाले वार्तामा हुन नसकेको बताइरहेको छ ।