काठमाडौं । पछिल्ला दिन देशका धेरै भूभागमा गर्मी बढेको छ । कतिपय स्थानमा बेलाबखत वर्षा पनि भइरहेको छ । विशेष गरी पश्चिम तराई भूभागमा गर्मी अत्यधिक बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा पनि तापक्रम बढ्दो छ । शनिबार (जेठ ९) काठमाडौंको अधिकतम तापक्रम ३०.७ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार (जेठ ८) काठमाडौंको अधिकतम तापक्रम ३० डिग्री थियो । बिहीबार (जेठ ७) काठमाडौंको अधिकतम तापक्रम २८.८ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
काठमाडौंको हालसम्मकै बढी तापक्रम ३६.६ डिग्री हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री मापन गरिएको थियो ।
यस दिन महाशाखाले सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.५ डिग्री छ । नेपालगन्जको अधिकतम तापक्रम शुक्रबार ३८.८, बिहीबार ४१.५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
शनिबार भैरहवाको अधिकतम तापक्रम ३९.८, धनगढीको ३९.६, दिपायलको ३९.२, सिमराको ३७.७, घोराहीको ३६.४, जनकपुरको ३६.१ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
नेपालमा हालसम्मकै बढी तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री मापन गरिएको तथ्यांक छ ।
महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा तीन दिनसम्म मध्यम तातो लहरको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो ।
यति बेला देशभर साधारणतया बादल लागेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित ‘मध्यम’सम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
“हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ,” महाशाखाले भनेको छ ।