काठमाडौं । देशका केही स्थानमा यति बेला (शनिबार बेलुका ७ः५५ बजे) पानी परिरहेको छ । ‘मध्यम’सम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“हाल कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ,” महाशाखाले भनेको छ ।
पानी पार्ने यो प्रणाली पूर्वतिर सर्दै गएको भन्दै महाशाखाले आसपासका क्षेत्र तथा जिल्लामा सजग रहन आग्रह गरेको छ । काठमाडौंमा पनि केही स्थानमा वर्षा भएको छ ।
पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले दक्षिणमा धनुषा–महोत्तरीदेखि उत्तरमा सिन्धुली–रामेछाप–दोलखा–ओखलढुंगा–खोटाङ र सोलुखुम्बुसम्मको आकाश ठूलो बादलले ढाकेको उल्लेख गरेका छ । “यो क्षेत्रमा भारी वर्षा तथा चट्याङको सम्भावना छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
जलवायुविज्ञ धर्मराज उप्रेतीले पनि पूर्वी नेपालमा भारी वर्षाको सम्भावना औँल्याएका छन् । पूर्वी नेपालमा अबका तीन दिन नै वर्षाको सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।