काठमाडौं । इरानले होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरेको घोषणा गरेको छ । यो घोषणापछि अमेरिकाले इरानमाथि नयाँ शृंखलाबद्ध सैन्य आक्रमण सुरु गरेको जनाएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, सिरिक, चाबहार, बन्दर–ए देइर र असालुयेह जस्ता बन्दरगाह सहरहरूमा विष्फोट भएको रिपोर्ट गरेका छन् ।
इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले बन्दर अब्बास र सिरिक बन्दरगाह सहरमा तीन/तीनवटा विस्फोट भएको पुष्टि गरेको जनाएको छ । त्यसैगरी, चाबहार बन्दरगाह सहरमा दुईवटा विस्फोटको आवाज सुनिएको उल्लेख छ । प्रसारण संस्थाका अनुसार, बुशेहर प्रान्तको बन्दर–ए देइर सहरमा पाँचवटा विस्फोट भएका छन् भने सोही प्रान्तको असालुयेह सहरमा पनि चारवटा विस्फोटको आवाज सुनिएको छ ।
विस्फोटको कारण, क्षतिको विवरण वा सम्भावित मानवीय क्षतिबारे भने अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । सम्बन्धित निकायहरूले घटनाबारे थप विवरण संकलन गरिरहेका छन् ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै इरानले गलत निर्णय गरेको बताएका छन् । उनले अब उसले यसको मूल्य चुकाउँदै छ भनेर लेखेका छन् ।
अमेरिकी सेन्ट्रल कमान्डले साइप्रसको झण्डाअंकित एउटा व्यापारिक जहाजमाथि आईआरजीसीले गरेको निर्मम आक्रमणको जवाफस्वरूप आफूहरूले यस साताको तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरेको जनाएको छ ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले स्वीकृत मार्ग परिवर्तन गरी आफ्नो ट्रयाकिङ प्रणाली बन्द गरेको आरोप लगाउँदै एउटा जहाजमाथि आक्रमण गरिएको जनाएको थियो । चिनियाँ तथा इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, उक्त जहाजले निर्धारित समुद्री मार्ग उल्लंघन गरेपछि कारबाही गरिएको हो ।
सेन्टकमका अनुसार, मिसाइल आक्रमणका कारण जहाजको इन्जिन कोठामा ठूलो क्षति पुगेको छ । साथै, जहाजले आफ्नो यात्रा जारी राख्न नसक्ने अवस्थामा पुगेको छ । घटनामा चालक दलका एक सदस्य अझै बेपत्ता रहेको पनि जनाइएको छ ।
सेन्टकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यापारिक जहाजहरूमाथिका अघिल्ला आक्रमणपछि इरानलाई समझदारी पत्रप्रति आफ्नो प्रतिबद्धता देखाउने अवसर दिइएको थियो, तर उसले फेरि त्यसलाई उल्लंघन गर्यो ।”
तनाव झन् बढ्दै
यसअघि ओमानको जलक्षेत्र हुँदै अमेरिकाले सिफारिस गरेको समुद्री मार्ग प्रयोग गर्न खोज्दा तीनवटा व्यापारिक तेल ट्यांकरमाथि आक्रमण भएको थियो । इरानले भने आफ्नो जलक्षेत्र हुँदै जाने मार्ग नै सुरक्षित रहेको दाबी गर्दै आएको छ ।
इरानी अधिकारीहरूका अनुसार, यस हप्तामा भएका अमेरिकी आक्रमणमा १७ जनाको मृत्यु भएको छ । साथै, ११५ जना घाइते भएका छन् । त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी मुलुकका सैन्य संरचनामाथि आक्रमण गरेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो घटनापछि इरानी आक्रमणलाई युद्धविरामको अन्त्यका रूपमा व्याख्या गरेका छन् । उता, इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् ।
यद्यपि, दुवै पक्षले मध्यस्थकर्तामार्फत वार्ता जारी रहेको संकेत दिएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार, इरानले व्यापारिक ट्यांकरमाथिको आक्रमण गल्तीवश भएको भन्दै त्यसको जिम्मेवारी आफ्नो नियन्त्रणबाहिर रहेको एउटा आन्तरिक समूहलाई दिएको छ ।
अमेरिकी अधिकारीहरूले मध्यस्थकर्तामार्फत इरानलाई होर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाजका लागि खुला राख्न आग्रह गरेका छन् । साथै, व्यापारिक जहाजमाथि हुने आक्रमण रोक्ने सार्वजनिक प्रतिबद्धता जनाउन आग्रह गरेका छन् ।
नयाँ सर्वोच्च नेताको पहिलो चेतावनी
इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनेईले पद सम्हालेपछि दिएको पहिलो सार्वजनिक सन्देशमै अमेरिका र इजरायलसँग बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनका बुबा तथा पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनेई फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायलको हवाई आक्रमणमा मारिएका थिए ।
सरकारी टेलिभिजनमार्फत प्रसारित वक्तव्यमा मोज्ताबा खामेनेईले भने, “सहिद नेता र युद्धमा ज्यान गुमाएका सबैको रगतको बदला लिनु राष्ट्रको चाहना हो ।”
उनले अगाडि भने, “यो कुनै एक व्यक्तिमा निर्भर विषय होइन । हामी रहौँ वा नरहौँ, यो बदला पूरा भएरै छाड्नेछ ।”
यसैबीच, अली खामेनेईको अन्त्येष्टिमा सहभागी धेरै इरानीहरूले अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध नाराबाजी गरेका थिए । त्यसको जवाफमा ट्रम्पले आफूविरुद्ध कुनै पनि आक्रमण गरे अमेरिकाले इरानका सबै क्षेत्र ध्वस्त पार्ने चेतावनी दिएका छन् ।