काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–१ मा शनिबार मध्यान्ह मृत भेटिएकी रश्मी रिजालले आत्मदाह गरेको प्रहरी निष्कर्श रहेको छ । ४५ वर्षीया रिजाल साउन ८ गति बिहान ७ बजे घरबाट निस्केकी थिइन् । त्यसपछि उनी सम्पर्कमा नआएपछि परिवारले खोजिबिनका लागि आग्रह गरेका थिए ।
शनिबार तारकेश्वरकझ कालेबासे चुनदेवी बालुवा प्रशोधन केन्द्रमा एउटा गाडीभित्र शंकास्पद मृत महिला फेला परेकी थिइन् । स्थानीयले खबर आएसँगै प्रहरी वृत्त बालाजुबाट खटिएको टोली त्यहाँ पुगेर अनुसन्धान गर्दा मृतक महिला नुवाकोटको तादी गाउँपालिका ३ घर भएर मनमैजुमा बस्ने रिजालको भएको खुलेको हो । साउन ८ मै कालो सिसा भएको गाडी पार्किङमा देखेका थिए तर वास्ता गरेका थिएनन् । साउन ९ मा एक स्थानीय त्यसतर्फ जादाँ गाडीभित्र ति महिला मृत भेटिएपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी पुगेर चेकजाँच गर्दा बिएई ०४१० नम्बरको ईभी कारभित्र उनै रश्मी मृत अवस्थामा भेटिइन् । उनी कारको पछिल्लो सिटमा थिइन्, गाडीको चाबी चालक सिटमा नै थियो ।
आइतबार पोस्टमार्टमपछि उनका श्रीमानले शव बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि शव परिवारलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले हुलाक प्रेसलाई बताए । तारकेश्वर नगरपालिका वडा नम्बर–९ मनमैजुस्थित शुभकामना चोकमा बस्दै आएकी रश्मी साउन ८ गते बिहान घरबाट निस्केकी थिइन् । घरबाट निस्केर सिधै उनी घटनास्थलमा गएको र बोतलबाट पेट्रोल छर्केर उनले आत्मदाह गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । त्यहाँ रहेको सिसिटीभी फुटेज अवलोकन गर्दा गाडी रोकेर रश्मीले बोतल झिकेर शिरबाट पेट्रोल खनाएपछि लाइटर लगाएको देखिन्छ, एक अनुसन्धान अधिकृतले भने, त्यसपछि गाडीभित्र ढोका लक गरेर ३० सकेन्डमा आगलागी भएको देखिएको छ । प्रारम्भिक अनुसन्धानबाट रश्मीले आफैँलाई जलाएको अनुसन्धानले देखाएको एसपी भट्टराईले बताए । उनले भने, ‘सिसिटिभी फुटेज विश्लेषण गर्दा घटनास्थलमा अरूको उपस्थिति देखिँदैन ।’
गाडीमा एयर कन्डिसन अन गरेर शुरुमा कारभन्दा बाहिर शरीरमा पेट्रोल छर्केको र भित्र छिरेर आगो लगाएको अनुसन्धानको निष्कर्ष छ । गाडीभित्र जलेको अवस्थामा ३ वटा लाइटर प्रहरीले बरामद गरेको छ । अनुसन्धान अधिकृतहरूका अनुसार रश्मीले आत्मदाह गरेको र उनको अनुहार र खुट्टा जलेको पाइएको छ । गाडीको भित्री भाग जलेको छ भने बाहिरी भाग जलेको छैन ।
नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडको मर्चेन्ट हेडको रूपमा कार्यरत रश्मी केही समयदेखि तनावमा थिइन् । गएको महिना लगातार ३ दिन कार्यालयमा अनुपस्थित भएपछि कार्यालयले उनको खोजी गरेको थियो । घटनास्थलमा भेटिएको गाडी उनकै भएको बताइएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
असार २५ पछि १० घटना
असार २५ भन्दापछि काठमाडौँ उपत्यका र उपत्यका बाहिर आत्मदाह सम्बन्धी १० वटा घटना भएका छन् । काठमाडौँमा मात्र ७ वटा आत्मदाह प्रयास र आत्मदाहका घटना भएका छन् । मुगुको सोरु गाउँपालिका वडा नम्बर–१ जवलधारा घर भएका २५ वर्षीय गणेश नेपालीले असार २५ मा आत्मदाह गरेपछि घटना एकपछि अर्को हुँदै बढेको हो । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको थियो । पार्किङको विषयमा काठमाडौँ महानगर प्रहरी बलका सुरक्षाकर्मीसँग विवाद हुँदा उनले आत्मदाह गरेका हुन् । घटनको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको नेतृत्वमा न्यायिक समिति गठन गरिएको छ ।
साउन ४ मा काठमाडौँ महानगरपालिका वडा नम्बर–६ स्थित बौद्ध गेट नजिकै खाजा पसल चलाउँदै आएकी २७ वर्षीया सालु गुरुङले आत्मदाह प्रयास गरिन् । अहिले उनको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार हुँदै छ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–३ घर भएर गुरुङ र उनका श्रीमान् गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा बस्दै आएकी थिइन् ।
असार २७ मा बुद्धनगरमा ४५ वर्षीय अश्विन राउतले आत्मदाह गरे । उनले आफ्नै घरको भान्साकोठामा आफैँलाई आगो लगाएका हुन् । उपचराको क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।
साउन ५ मा कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका सुरेशचन्द्र श्रेष्ठले पनि आत्मदाह गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–२६ नरदेवी घर भएका श्रेष्ठ परिवारसँग कीर्तिपुर स्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए । आफैँले चलाएको बा.५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्गलाफाँटस्थित चाँदनी चोकमा उनले आफैँलाई जलाएका हुन् । श्रेष्ठ औषधीको व्यवसाय गर्दै आएका थिए । उपत्यकामा भएका घटनाहरू मध्ये रश्मी रिजालको आत्मदाह पाँचौँ घटना हो ।
काठमाडौँमा भएका थप दुई वटा आत्मदाह प्रयासको घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर काउन्सेलिङ गरेको छ । कीर्तिपुरस्थित नयाँबजारमा सडक पेटीमा तरकारी बेच्दै आएका एक पुरुषलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
नगर प्रहरीको हस्तक्षेपका कारण तरकारी बेच्ने समय थोरै भएको हुनाले जीविकोपार्जन कठिन भएको भन्दै उनले साउन ४ मा आत्मदाह प्रयास गरेका हुन् । यसैगरी पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै अर्का एक युवाले पनि शीतलनिवास अगाडि आत्मदाह प्रयास गरे । आत्मदाह गर्न खोज्ने २७ वर्षीय उनलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ । उनी रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन् ।
सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो । असार २६ मा गोडैता नगरपालिका–१० घर भएका ३५ वर्षीय मण्डलले आत्मदाह प्रयास गरेका थिए । उपचारको क्रममा उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।
सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा साउन २ मा ५ जना कैदीबन्दीले आत्मदाह प्रयास गरे । रौतहटको गरुडामा असार ३१ मा २८ वर्षीय गौतमकुमार सहनीले आत्मदाह प्रयास गरे । गरुडा नगरपालिका वडा नम्बर–९ घर भएका सहनीको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।