रौतहट । रौतहट प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका १३ जनालाई पक्राउ गरेको छ। प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका करिब डेढ लाख रुपैयाँ बराबरका अवैध सामानसमेत बरामद गरेको छ।
फैसला कार्यान्वयनअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार पक्राउ पर्नेमा चोरी तथा डाँका, चेक अनादर तथा कुटपिट, गाली बेइज्जतीलगायत मुद्दामा अदालतबाट फैसला भएका व्यक्तिहरू छन्।
पक्राउ परेकामध्ये एक जनालाई चोरी तथा डाँका मुद्दामा ४ महिना १९ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। अन्य प्रतिवादीहरूलाई चेक अनादर तथा कुटपिट, गाली बेइज्जती मुद्दामा विभिन्न रकम जरिवाना तोकिएको थियो।
प्रहरीका अनुसार १३ जना पक्राउ पर्दा उनीहरूबाट कुल ४ महिना १९ दिन कैद तथा १६ हजार रुपैयाँ जरिवाना असुल हुने फैसला कार्यान्वयन भएको छ। पक्राउ परेका सबैलाई रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको प्रहरीले जनाएको छ।