शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • जाजरकोटको रिसाङमा पहिरोः १० जना घाइते, तीन जना सम्पर्कविहीन


    हुलाक प्रेस

    • आइतबार, साउन ३१ २०८३०८:३५
    जाजरकोटको रिसाङमा पहिरोः १० जना घाइते, तीन जना सम्पर्कविहीन

    काठमाडौं । जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् । उक्त घटनामा तीनजना सम्पर्कविहीन भएका प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका-२ रिसाङ स्थित विभिन्न स्थानमा पहिरो गएको हो ।

    पहिरोका कारण घरहरू भत्किएको तथा जोखिममा परेको जानकारी पाएपछि उद्धारका लागि ५० जनाको टोली परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ५० जनाको टोली खटिएको हो ।

    पहिरोका कारण भेरी नगरपालिका-३ स्याला बस्ने पूर्णबहादुर विकको घर पूर्ण रूपमा क्षति भएको छ । घरमा रहेका पाँचजनाको परिवार आफन्तको घरमा बसेका छन् । सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन् । ती टहरामा हाल मानिस बसोबास नगर्ने जनाइएको छ ।

    उक्त घटनामा ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५७ वर्षीया भद्राकली कार्की, ४५ वर्षीय मनवीर चदरा, ४७ वर्षीया मोतीकला विक, ५२ वर्षीय केदार कार्की, करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही, ४५ वर्षीया सुन्तली चदरा घाइते भएका छन् ।

    त्यस्तै, पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका-२ फारुला बस्ने करिब ५४ वर्षीय उमासिंह खत्री, सोही नगरपालिका-२ चिसापानी बस्ने करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका-२ बस्ने करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् ।

    सम्पर्कविहीन भएकाहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ