काठमाडौं । फ्रेन्च फर्वाड किलियन एमबाप्पेको उत्कृष्ट प्रर्दशनप्रेरित रियाल मड्रिडले स्पेनिस ला लिगामा शनिबार घरेलु टोली रियाल भायाडोलिडविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै रियालले शीर्ष स्थानमा सहरी प्रतिद्धन्द्धी एटलेटिको मड्रिडसँग चार अंकको दूरी बनाएको छ । रियालको २१ खेलबाट ४९ अंक छ । यता पराजय बेहोरेको भायाडोलिड समान खेलबाट २१ अंकका साथ पुछारमा छ ।
जोसे जोरिला रंगशालामा रियाललाई जित दिलाउन एमबाप्पेले ह्याट्रिक गरे । रियालका लागि उनको यो पहिलो ह्याट्रिक हो । खेलको ३०औं मिनेटमा एमबाप्पेले टोलीलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा उनैले रियालको अग्रता दोब्बर बनाए ।
मारियो मार्टिनले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि भायाडोलिड १० खेलाडीमा समेटिएको थियो । इन्जुरी समयमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दै एमबाप्पेले रियाललाई सहज जित दिलाए ।
‘ह्याट्रिक भन्दा पनि टोलीले जित निकाल्दा बढि खुसी छु,’ खेलपछि एमबाप्पेले भने, ‘एट्लेटिकोको नतिजापछि हामीलाई थोरै दबाब थपिएको थियो। त्यसलाई कम गर्न यो जित अत्यन्त महत्त्वपूर्ण थियो। टोलीसँगको मेरो असमझदारी समाप्त भएको छ। मैदानमा सहज महसुस गरिरहेको छु र यो मेरो खेलबाट स्पष्ट देखिन्छ । लिग जित्न अझै लामो यात्रा तय गर्न बाँकी छ ।