काठमार्डौ । अग्रता जोगाउन नसक्दा टोटनहम इङ्लिस प्रिमियर लिगमा आइतबार घरेलु मैदानमै लेस्टर सिटीसँग पराजित भएको छ ।
जितसँगै २३ खेलमा १७ अकं जोडेका लेस्टर १७औं स्थानमा छ । पराजित टोटनहम समान खेलबाट २४ अंकका साथ १५औं स्थानमा छ ।
टोटनहमले पछिल्लो पटक डिसेम्बरमा साउथह्याम्पटनविरुद्ध जित निकालेको थियो । त्यसयताका ६ खेलमा टोलीले ५ हार र १ बराबरी आत्मसात गरेको छ ।
यता लेस्टरले १४ खेलपछि जित दर्ता गरेको हो । पछिल्लो पटक अक्टोरबरमा साउथह्म्पटनलाई हराएको लेस्टरले त्यसयता १२ हार र २ बराबरीको नतिजा निकालेको थियो ।
टोटनहम होस्ट्सपुर रंगशालामा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे ।
खेलको ३३औं मिनेटमा रिचार्लिसनको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । तर टोलीले त्यसलाई दोस्रो हाफमा जोगाउन सकेन ।
दोस्रो हाफमा निकै आक्रमक बनेको लेस्टरले सुरुआती पाँच मिनेट भित्रै दुई गोल गरेको थियो । ४६औं मिनेटमा भार्डीले लेस्टरलाई बराबरीमा ल्याए ।
त्यसको ४ मिनेटपछि नै आनौसले गोल गर्दा लेस्टर २ १ ले अगाडि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा लेस्टरले लामो समयपछि स्पष्ट तीन अंक प्राप्त गर्यो ।